
जेठ २९,
कैलाली जोशीपुर गाउँपालिका वडा नं. ३ का उत्कृष्ट विद्यार्थीहरुलाई पाठ्य समाग्री वितरण गरिएको छ। वडा अन्तरगतका सामुदायिक विद्यालयहरुबाट कक्षा ५ देखि ९ सम्मका विद्यार्थी जो कक्षामा द्धितिय र तृतिय श्रेणीमा उतीर्ण भएका छन् ति विद्यार्थीहरुलाई पाठ्य सामाग्री कापी, कलम र झोला वितरण गरिएको छ भने कक्षामा प्रथम हुने विद्यार्थीहरुलाई पाठ्य सामाग्री सहित साईकल वितरण गरिएको छ ।

शैक्षिक वर्ष २०८१ मा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई हौसला तथा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले जोशीपुर गाउँपालिका ३ नं. वडा ले पाठ्य सामग्री र साईकल वितरण गरेको हो ।

सरस्वती माध्यमिक विद्यालय लक्कड मनिकापुरमा भएको कार्यक्रमका सभाध्यक्ष एवं वडा नं. ३ का वडा अध्यक्ष रेणु कुमारी डंगौराले विद्यार्थीहरुलाई प्रोत्साहनका लागि वडाले यो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । विद्यार्थीहरुलाई उत्कृष्ट बनाउनमा शिक्षक, विद्यार्थी र अभिभावक सवैका महत्वपूर्ण भूमिका रहने पनि वहाँले बताउनु भयो ।

सामुदायिक विद्यालयहरुमा विद्यालय र शिक्षकहरुको समस्या समाधान तथा गुणस्तरीय शिक्षाका लागि शिक्षा नियमावली मस्यौदा बनिसकेको तर पास नभएकोले झै शिक्षक तथा विद्यालयका समस्या यथावत रहेको पनि वहाँले बताउनु भयो ।
विद्यार्थीहरुलाई प्रोत्साहन गरेको भन्दै विद्यार्थी निर्पना कठरियाले वडालाई धन्यवाद ज्ञापन गरेकि थिईन् । उनले भनिन् “यसले हाम्रो पढाईलेखाईमा थप उर्जा मिलेको छ । अझै यस्ता कार्यक्रमहरु गरिनु पर्छ ।”
कार्यक्रममा वडा सदस्य राजेश चौधरीले स्वागत मन्तव्य गर्नु भएको भने वडा सचिव राकेश डंगौराले शहजीकरण गर्नु भएको थियो ।

