
सुधराम दहित,
कठरिया थारु समुदायले मनाउने होली पर्व केवल रङ र रमाइलोको पर्व मात्र नभई गहिरो सांस्कृतिक र धार्मिक महत्व बोकेको परम्परागत पर्व हो। यो पर्वले समुदायको एकता, आस्था र पुरानो परम्परालाई जीवन्त बनाइराख्ने काम गर्दछ।
कठरिया थारु समुदायको महत्वपूर्ण पर्वको रुपमा मनाइने होली पर्व होली पूर्णिमा भन्दा करिब दुई हप्ता (पाख) पहिले, अर्थात् शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छ। त्यस दिन गाउँका कठरिया पुरुष र युवाहरूले घरघरबाट कण्डा (गुईठा) संकलन गरी भुँईयाँ/मरुवा (थारु कठरिया समुदायको देवता मन्दिर) मा जम्मा गर्न थाल्छन् । यही कार्यसँगै कठरिया होलीको औपचारिक सुरुवात हुन्छ। कण्डा संकलन गर्ने काम होली पूर्णिमाभन्दा करिब दुई दिनअघिसम्म जारी रहन्छ।
पूर्णिमाको अघिल्लो दिन पुरुषहरू गुणको मिठाई, अलिकति चामल, धागो र डेंका नाचसहित सिमलको रूख खन्न जान्छन्। दक्षिण–पूर्व दिशामा रहेको सिमलको हाँगामा धागो बाँधेर मिठाई, चामल र पूजा सामग्री चढाइन्छ। यसले धर्ती मातासँग उक्त रूख किनेको धार्मिक मान्यता जनाउँछ। त्यसपछि डेंका बजाउँदै सिमलको रूख खनेर ल्याई भलमन्साको घरमा राखिन्छ।
अर्को दिन बिहानै उक्त सिमलको रूख परम्परागत स्थानमा लगेर पहिले जस्तै गरी रोपिन्छ र उपस्थित सबैलाई पूजा प्रसाद बाँडिन्छ। त्यसै बोटको नजिक संकलन गरिएको कण्डा बालेर होलिका दहन गरिन्छ। होलिकाको आगो सबैले आ–आफ्नो घरमा आगो लगेर चुलो बाल्ने, खाना पकाउने, पुरी बनाउने र आफ्ना देवतालाई चढाउने चलन छ। गाउँको घरघरबाट आफ्नो घरमा रोटी पुरी अर्थात प्रसाद ग्रहणका लागि अरोस–परोस, छरछिमेक, आफन्तजन, गाउँबासी सवैलाई निमन्त्रणा गरिन्छ र दिनभरि घरघरमा पुरी खाने र आपसी भेटघाट गर्ने, खुशीयाली आदान–प्रदान गर्ने गरिन्छ।

साँझपख गाउँका बालबालिका, युवायुवती, संस्कृति प्रेमी गाउँबासीहरु सांस्कृतिक नाचगानसहित होली बुताउन जाने चलन छ। जलिरहेको होलिकाको वरिपरि घुम्दै, नाच्दै, एक–अर्कालाई जलेको कण्डीको टिका लगाउँदै यारी–दोस्ती सुदृढ गरिन्छ र अग्रज तथा पुर्खाहरूबाट आशीर्वाद लिइन्छ। अन्त्यमा भलमन्साको घर गई होरी नाच नाची सो दिनको कार्यक्रम समापन गरिन्छ।
फागु पूर्णिमाको दिनदेखि गाउँका युवा–युवतीहरूले घरघरमा सांस्कृतिक होली नाचले फगुवाउने कार्य गर्छन्। यो कार्यक्रम आठ दिनसम्म चल्छ। यस क्रममा उनीहरू पुर्खा, अगुवा, वडा अध्यक्ष, गाउँपालिका तथा नगरपालिकाका प्रमुख लगायत मान्यजनका घर र कार्यालयमा पुगेर नाचगान गर्छन्। बदला स्वरूप उनीहरूलाई चामल, पैसा वा खानेकुरा दिइन्छ। संकलित अन्न र पैसाबाट युवायुवतीहरूले होलीको अन्तिम दिन अर्थात खख्रेहराको दिन विहानै जिता मार्ने, मासु पकाउने, खाने, सामूहिक रूपमा दिनभरि रमाइलो गर्ने गर्दछन्। अर्थात खख्रेहरा मनाउने गर्दछन् । खख्रेहरा राना समुदाय र कठरिया समुदायले होलीको अन्तीम दिन भव्यताका साथ मनाईने गरिन्छ। अन्त्यमा भुँइयाँ/मरुवामा पुगेर विधिपूर्वक आफ्नो कुल देवताको पूजाआजा गरी होली पर्वको विसर्जन गरिन्छ। त्योदिन देखि कठरिया समुदायमा डेंका बजाउने कार्य समेत बन्द गरिन्छ ।
यसरी कठरिया थारु समुदायको होली पर्वले धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, सामूहिक एकता र समृद्ध सांस्कृतिक पहिचानलाई जोगाइराख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राविधिक सहयोगी संस्कृति संरक्षक एवं सामाजिक अगुवा भरत कठरियाले बताउनु भएको छ।