
जोशीपुर/भाद्र २६,
साना किसान कृषि सहकारी संस्था लिमिटेड, जोशीपुरको आयोजना तथा वाफ नेपाल र स्पर्श क्लिनिक प्रा.लि. अत्तरियाको प्राविधिक सहयोगमा जोशीपुरमा निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सञ्चालन हुने भएको छ।
सहकारी संस्थाले जारी गरेको सूचनाअनुसार २०८३ भदौ २७ गते शनिबार बिहान ९ बजेदेखि श्री मोहन्याल माध्यमिक विद्यालय, बडहरियामा स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
शिविरमा विशेषगरी पायल्स, फिस्टुला तथा फिसर सम्बन्धी समस्या भएका बिरामीको जाँच तथा उपचार गरिने जनाइएको छ। मलद्वार दुख्ने, पोल्ने वा चिलाउने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पिप बग्ने र मलाशय बाहिर निस्कनेलगायत समस्या भएका व्यक्तिले शिविरबाट सेवा लिन सक्नेछन्।
यसैगरी शिविरमा निःशुल्क स्त्रीरोगसम्बन्धी सेवा समेत उपलब्ध हुने आयोजकले जनाएको छ। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको सहकारीको सूचनामा उल्लेख छ।
सहकारीले स्वास्थ्य समस्या भएका सम्पूर्ण सर्वसाधारणलाई शिविरमा सहभागी भई अवसरको लाभ लिन आग्रह गरेको छ। यस्ता समुदायकेन्द्रित स्वास्थ्य कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने संस्थाका प्रबन्धक तृसना भट्ट पाठकले बताउनु भयाे ।