
जोशीपुर/कार्तिक १,
मानवीय सेवामा सधैँ समर्पित नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाको पहलमा भोटेकोशी बाढीबाट प्रभावित जोशीपुर गाउँपालिकाका नौ परिवारलाई दशैंको अवसरमा कपडा, झोला र चप्पल वितरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको महत्वपूर्ण भूमिकामा दशैं पर्वलाई लक्षित गरी बाढी प्रभावित परिवारलाई आवश्यक सामग्री वितरण गरिएको हो। विपद्बाट प्रभावित परिवारलाई चाडपर्वका बेला सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको जिल्ला सभापति जोशीले बताउनु भयो ।

जोशीपुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णुप्रसाद डंगौरा, नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष मोतीराम उपाध्याय, नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाका प्रमुख विक्रम चौधरी, प्रतापुर उपशाखाका प्रमुख खडकबहादुर चौधरी तथा उपसभापति दीपा वडायक लगायतको उपस्थिति सामग्री वितरण गरिएको थियो।
भोटेकोशी बाढीका कारण प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेका बेला दशैंको अवसरमा प्राप्त सहयोगले उनीहरूलाई राहत पुग्ने र विपद्का बेला पीडित परिवारको दुःखमा साथ दिनु र मानवीय सेवामार्फत उनीहरूको जीवन सहज बनाउन सहयोग गर्नु रेडक्रसको महत्वपूर्ण उद्देश्य रहेको जोशीपुर उपशाखा प्रमुख विक्रम चौधरीले बताउनु भयो ।

मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाले विपद् प्रभावित परिवारलाई सहयोग गर्ने कार्यलाई प्राथमिकता दिएको र चाडपर्वका बेला पीडित परिवारलाई गरिएको यस सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावना उजागर गरेको वडा अध्यक्ष विष्णु प्रसाद डंगौराको भनाई रहेको थियो ।
