
कार्तिक १२।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया र जोशीपुर शाखाले सदस्य सुरक्षण कार्यक्रम अन्तरगत मृतक सदस्यका परिवारलाई नगद रकम हस्तान्तरण गरेको छ। संस्थाले सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्बन्धित परिवारलाई सुविधा रकम हस्तान्तरण गरेको हो।
संस्थाको पथरैया शाखाअन्तर्गत जानकी गाउँपालिका–८, जवलपुरस्थित केन्द्र नम्बर ४४४७ मा संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहको सभाध्यक्षता तथा वडाध्यक्ष तीर्थराज उपाध्यायको प्रमुख आतिथ्यमा स्वर्गीय सुन्दरलाल डगौराको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै वहाँको आफन्त पार्वती चौधरीलाई ७ लाख २० हजार ३ सय ६९ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको रहेको थियो । कार्यक्रमलाई पथरैया शाखाका शाखा प्रमुख प्रविन चौधरीले शहजीकरण गरेका थिए।
त्यसैगरी, संस्थाको जोशीपुर शाखाअन्तर्गत भजनी नगरपालिका–६, महादेउलीस्थित केन्द्र नम्बर २४६ मा जोशीपुर शाखाका शाखा प्रमुख तप्तबहादुर खत्रीको सभाध्यक्षता तथा हरि प्रसाद गौतमको प्रमुख आतिथ्यमा स्वर्गीय रञ्जितकुमार चौधरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै वहाँको आफन्त सुनिता चौधरीलाई १ लाख २८ हजार २ सय ३६ रुपैयाँ सुविधा रकम हस्तन्तरण गरिएको थियो । कार्यक्रमलाई जोशीपुर एग्रो बिजनेसका प्रमुख वीरेन्द्र बहादुर शाहले सञ्चालन गरेका थिए।

दुवै कार्यक्रममा दिवंगत सदस्यहरूको सम्झना गर्दै संस्थाका पदाधिकारी तथा सदस्यहरुले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए । सहकारीले सदस्य तथा तिनका परिवारसँग सम्बन्धित सुविधा वितरणमार्फत संस्थागत सहकार्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको समेत शेयर सदस्य हरि प्रसाद गौतमले बताउनु भयो । दुवै कार्यक्रममा उपलब्ध रकम जम्मा ८ लाख ४८ हजार ६०५ रुपैयाँ रहेको छ।
