
असार १,
कैलालीको टीकापुरमा असार ३ गते देखि ७ गते सम्म थारु साँस्कृतिक मेला महोत्सव हुने भएको छ।
थारु समुदायको भाषा, साहित्य, कला, संस्कृति तथा परम्परागत जीवनशैलीलाई संरक्षण, प्रवद्र्धन र पर्यटनसँग जोड्ने उद्देश्यले थारु सांस्कृतिक मेला महोत्सव आयोजना हुने भएको हो। असार ३ गते देखि ७ गते सम्म हुने साँस्कृतिक मेला महोत्सवले थारु समुदायको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महोत्सवमा थारु लोकनृत्य, झुम्रा, सखिया, मघौटा लगायतका सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकारहरूको

प्रदर्शनी, परम्परागत भेषभूषा प्रदर्शन, लोककला तथा हस्तकलाका स्टलहरू रहनेछन्। साथै थारु इतिहास, साहित्य, संस्कृति र सामाजिक जीवनका विविध पक्षमा बौद्धिक बहस तथा अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ।
महोत्सवले स्थानीय पर्यटन प्रवद्र्धन गर्दै टीकापुर क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा सहयोग पु¥याउने विश्वास लिइएको छ। कर्णाली नदी, टीकापुर पार्क तथा आसपासका प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग पर्यटकलाई जोड्ने गरी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। यसबाट स्थानीय व्यवसाय, होटल, कृषि उत्पादन तथा घरेलु उद्योगलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
थारु समुदायको मौलिक संस्कृति नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन विकासलाई एकसाथ अघि बढाउने उद्देश्यले आयोजना हुन लागेको यो महोत्सव सुदूरपश्चिमकै महत्वपूर्ण सांस्कृतिक आकर्षणका रूपमा स्थापित हुने विश्वास गरिएको आयोजक थारु टेलिभिजन धनगढीले जनाएको छ।
मेला महोत्सव भव्य पार्ने उद्देश्यले कार्यक्रमको राम्रो तयारी भई रहेको थारु टेलिभिजन कि सञ्चालिका मनमति बखरियाले जानकारी दिनु भएको छ।
