जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले पिउने शुद्ध पानी देखि निशुल्क पाईने औषधि समेत भेटिएन/विरामी आउनै छाडे

बैशाख ११,
कैलाली, जोशीपुर — कैलाली क्षेत्र नं. १ का संघीय सांसद माननीय कोमल ज्ञवालीले जोशीपुर गाउँपालिका–२ मुद्धि स्थित जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको छ। स्वास्थ्य केन्द्रमा चौतर्फी गुनासो बढेपछि वास्तविक अवस्था बुझ्न उहाँले अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा स्वास्थ्य केन्द्रको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ। बिरामीहरू उपचारका लागि आउनै छाडेको स्थानीयले बताएका छन्। स्वास्थ्य केन्द्रमा बिरामीले पिउने शुद्ध पानीसम्मको व्यवस्था नभएको गुनासो छ भने नेपाल सरकारबाट निःशुल्क उपलब्ध हुने ९८ प्रकारका औषधिमध्ये करिब २५–३० प्रकारको औषधि मात्रै उपलब्ध रहेको पाइएको छ।
स्वास्थ्य केन्द्रमा एक जना मात्र डाक्टर कार्यरत छन्। डाक्टर अर्जुन चौधरीका अनुसार अत्यावश्यक सामग्रीको माग गर्दै फाइल स्वास्थ्य शाखामा पठाउँदा महिनौंसम्म कुनै सुनुवाइ नहुने समस्या रहेको छ।मेसिनहरू प्रयोगविहीन अवस्थामा छन्, चलाउन नपाएर बिग्रिँदै गएका छन्, उनले बताए।

प्रशासन प्रमुख ध्रुव भट्टराईले पनि स्वास्थ्य केन्द्रमा थुप्रै समस्या रहेको र राज्यको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो। स्वास्थ्य बीमाले समेत बिरामीको समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न नसकेको उहाँको भनाइ छ।
यस्तै, पाँच शैयाको अस्पताल उद्घाटन भए पनि आवश्यक सेवा र सुविधा नहुँदा नाम मात्रको बनेको स्थानीयको आरोप छ। ओपिडी सेवा समेत प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

प्रशासन प्रमुख ध्रुव भट्टराई र डा. अर्जुन चौधरीको बोलीचारी समेत रहेको प्रशासन प्रमुख भट्राईले बताउनु भएको छ। तर डा. चौधरीले आफुबाट कुनै कसै सँग गलत सोच नरहेको बताएका छन् । स्वास्थ्य केन्द्रको समस्या प्रति सम्बन्धीत निकायले कुनै चाँसो नदेखाए पछि आफु पनि मौन रहेको उनले बताए ।

अनुगमनपछि सांसद ज्ञवालीले स्वास्थ्य केन्द्रका मुख्य समस्या र आवश्यकताबारे विस्तृत प्रतिवेदन तयार पारेर आफ्नो सचिवालयमा बुझाउन प्रशासन प्रमुखलाई निर्देशन दिनुभएको छ। स्थानीयले भने स्वास्थ्य सेवामा सुधारका लागि सम्बन्धित निकायको तुरुन्त ध्यान जानुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *