
सावन ३०,
थारु लोक कला हव बनाउन कैलालीको जानकी गाउँपालिकाले ३ वर्ष देखि प्रयास गर्दै आएको छ । थारु अस्टिम्की चित्रकलालाई लिएर पालिकालाई नै थारु लोक कला हव बनाउन प्रत्येव वर्ष नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान काठमाण्डौंको सहयोगमा अस्टिम्कीको चित्र बनाउने तालिम पालिकाले दिंदै आएको छ । यसवर्ष पनि पालिकाले चित्र बनाउने कार्यक्रममा चित्रको व्याख्या गर्न सक्ने बुद्धिजिवी र विद्यालयका बालबालिकाहरुलाई सहभागिता गराएको थियो । ताकि चित्र सँगै चित्रको महत्व बारे बालबालिकाहरु बुझ्न सकुन ।

अस्टिम्कीको चित्रले समग्र थारु समुदायको ईतिहास बोकेको, चित्र सँगै अष्टिम्कीमा गाउने गीतले पनि चित्रको चित्रण र महत्व वारे दर्शाउने गरेको गा.पा.अध्यक्ष गणेश चौधरीले बताउनु भयो । अष्टिम्कीमा बनाउने थारु लोक चित्रमा धर्ती, सुर्य, चन्द्रमा, जिवजन्तु, पशु पन्छि लगायत सम्पूर्ण सृष्टिकै चित्र किन बनाईन्छ ? यसको महत्व के छ ? किन पुर्खाहरुले यिनिहरुको चित्र एक डेहरीमा बनाएर पुजा गर्ने गर्दछन् ? किन चित्र बनाउँदै गीत पनि गाइन्छ ? यसको आफ्नै मूल्य र मान्यता छ । यस विषयमा खोजी गर्न र जान्न जरुरी छ । पुस्तान्तरणका लागि जानकी गाउँपालिकालाई थारु लोककला हव बनाउन जानकी गाउँपालिकाले अथक प्रयास गरिरहेको पनि अध्यक्ष चौधरीको भनाई छ । “थारु लोक कलालाई व्यवसायिक बनाउन जरुरी छ। व्यागमा, टि–सर्टमा थारु लोक कलाको चित्र प्रिन्ट गरेर अथवा बोर्डमा अष्टिम्कीको चित्र बनाएर अष्टिम्कीको लागि बजारमा बेची यसको व्यवसायिकरण गर्न जरुरी छ ।” वहाँले भन्नु भयो ।

संसारमा लोक चित्रकलाको आफ्नै महत्व छ । नेपालको मिथिला चित्रकलाले संसारमै नेपालीलाई चिनाएको छ। त्यसै गरि थारु लोक कलाहबले विश्वमा नै थारुहरुको परिचय दिने छ । यसका लागि जानकी गाउँपालिकाले आगिमी वर्षमा चित्र बनाउनुका साथै गित पनि गाउने अभ्यास गर्ने पालिका उपाध्यक्ष लालमति देवी कठरियाले बताउनु भयो । “संस्कृति, परम्परा, रितिरिवाज, पौराणिक लोक काल, चित्रकला संरक्षण गर्नु त छदैछ । यसलाई पुस्तान्तराण गर्नुमा झन ठुलो चुनौती छ ।” वहाँले भन्नु भयो ।

पलिकाले बनाएको चित्रमा धेरै गल्तीहरु रहेको छन् । यसलाई अझै खोजी र अध्ययन गरि अष्टिम्कीको चित्र बनाउनु पर्छ । चित्रमा सुर्य कता हुन्छ, चन्द्रमा कता हुन्छ, अन्य चित्रहरु कति, कहाँ र कतातिर हुन्छन् । यस विषयमा अझै पनि अन्यौल्ता छ भन्ने भलमन्सा दिनेश थारुको रहेको छ । “यसस्ता विषयलाई बहसको विषय बनाएर निश्कर्ष ल्याउनु पर्छ । यसले थारु लोककला हबलाई थप सहयोग पुग्ने छ ।” उनले भने ।

त्यसै गरि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रदिप अधिकारीले लोकचित्रकला हाराउँदै गएको बताउनु भयो । बाह्य संस्कृतिको प्रभावले हाम्रो संस्कृति ओझेलमा परेकोले यसलाई न्यूनिकरण गर्न र संस्कृतिलाई नयाँ पिडिमा पुस्तान्तरण गर्न जानकी गाउँपालिकाले ठुलो प्रयास गरेको पनि वहाँले बताउनु भयो ।