
असार १४,
कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरि ५ जिल्लामा विभिन्न कार्यक्रम गरि भव्यताका साथ १२ औं कमलरी दिवस मनाए सँगै कैलालीको जोशीपुरमा पनि एक कार्यक्रमका विच १२ औं कमलरी दिवस मनाइएको छ। नेपाल सरकार २०७० सालमा मुक्त कमलरीहरुको सशक्त आन्दोलन पश्चात कमलरी मुक्तको घोषणा गरेको थियो । कमैया र कमलरीहरुलाई परिचय पत्र उपलब्ध गराउने र उनिहरुको शिक्षा, स्वास्थ्य, रोजगार, उच्च शिक्षा, छात्रवृति, सिप विकासको ग्यारेन्टी गर्ने सहमति भए बमोजिम कुनै पनि कार्यको कार्यान्वयन नगरेको मुक्त कमलरीहरुको भनाई रहेको थियो ।

स्थानिय, प्रदेश र संघिय सरकारले मुक्त कमलरीहरु र उनिहरुको बालबालिकाहरुको लागि कुनै किसिमको निति तथा कार्यक्रम ल्याएको छैन । कमलरीको समस्या प्रति सरकारको कुनै गम्भीरता देखिदैन, कमलरीहरु अझै पनि पाउनु पर्ने अधिकारबाट बञ्चित छन् । मुक्त कमलरीहरुको गास, बास र कपास सँगै उच्च शिक्षा तथा बैदेशिक रोजगारका लागि व्यवस्था गरिनु पर्ने मुक्त कमलरी विकास मञ्च कैलालीका अध्यक्ष विन्द्रा चौधरीको भनाई रहेको छ ।

नेपाल सरकार कमैया, कमलरीहरुको मुक्त कमैया र कमलरी घोषणा गर्दै जाने र कमैया तथा कमलरी मुक्त घोषणा गर्ने समयमा भएको सहमति तथा सम्झौता अनुसार कार्य नगर्ने, त्यसलाई बेवास्ता गर्दै आएको राष्ट्रिय सभा सदस्य हरि श्रीपाईलीले बताउनु भयो । “सरकारले संविधानमा लेखिएको छ । यिनिहरु कुनै किसिमको दासत्व व्यहोर्ने छैनन्, अरुको घरमा नरकीय जीवन व्यतित गर्नु पर्दैन, अन्याय र अत्याचार व्यहोर्नु पर्दैन, मोलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार दिएको छ । तर अझै मुक्त कमैया र कमलरीहरु त्यो अधिकारबाट बञ्चित भइरहेको अवस्था छ ।” वहाँले भन्नु भयो । वहाँले मुक्त कमैया र कमलरीहरुको हकहितमा तयार पारिएको प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक गर्न र उक्त प्रतिवेदनमा उल्लेख भएको हक अधिकारलाई यथा सिघ्र कार्यान्वयन गर्न समेत स्थानिय, प्रदेश र संघीय सरकारसँग माग गर्नु भएको छ ।

त्यसै गरि जोशीपुर गाउँपालिका ३ नं. वडा अध्यक्ष रेणु कुमारी डंगौराले जोशीपुरमा कमलरीहरुको तथ्याङ्क नै नरहेको बताउनु भयो । कमलरीहरुले आफ्नो माग सहित सरकार समक्ष आउन आग्रह गर्दै वहाँले मुक्त कमैया र कमलरीका छोराछोरीहरुका लागि जोशीपुर गाउँपालिकाले विभिन्न छात्रवृति लगायत उच्च शिक्षाका लागि समेत कार्यक्रम ल्याएको तर तथ्याङ्क र सम्पर्क नरहेको कारण उनि त्यो सेवासुविधाबाट बञ्चिन भएको बताउनु भयो । कमलरीहरुको परिचय पत्र मुक्त कमलरी विकास मञ्चले उपलब्ध गराएको तर नेपाल सरकारले अझै सम्म पनि परिचय पत्र उपलब्ध नगराएकै कारण कमलरी पहिचान गर्न समस्या रहेको समेत वहाँले बताउनु भयो ।

मुक्त कमलरी विकास मञ्च कैलालीको आयोजनामा भएको दिप प्रज्वलन कार्यक्रममा मुक्त कमैया समाजका प्रदेश सदस्य विमल चौधरी, जोशीपुर गाउ“पालिका ५ नं. वडा अध्यक्ष अनर कुमार चौधरी, थारु कल्याणकारी सभा कैलाली जिल्ला सदस्य आशिष चौधरी, विभिन्न पालिकाका नगर अध्यक्षहरु, मुक्त कमलरी समाजका जिल्ला सदस्य सिता चौधरी र स्थानिय मुक्त कमलरीहरुको उपस्थिति रहेको थियो । दिप प्रज्वलन जोशीपुर बजार चोकमा गरिएको थियो ।