
सुधराम दहित/जेठ ३०,
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बोगटान फुड्सिल गाउँपालिका क्षेत्रमा भौतिक विकासले गति लिए पनि सामाजिक तथा सांस्कृतिक विकास हुन नसकेको स्थानीयको बुझाई छ । कृषि, स्वास्थ्य, शिक्षा, यातायातमा पालिकाले विकासका महत्वपूर्ण कदम चाले पनि यहाँका वासिन्दाहरु दुःखी रहेको बोगटान फुडसिल गाउँपालिका ३ नं. वडा लयाँटी निवासी धर्मराज रेग्मी (जजमानी)को भनाई छ ।

“गाउँ खाली भैसक्यो, शिक्षा, स्वास्थ्यमा सुविधा छैन । विमारी भयो भने धनगढी नै लग्नु पर्ने बाध्यता छ । यहाँको कृषि त मुठी मुर्री फल्ने छ। मास, भट्ट, गहत, मसुरो, चना, आम, काफल, ऐसेलु, किमवडा, सुन्तला, कागती, बाह्रै महिना फल्ने केरा राम्रो उत्पादन हुन्छ । बजार छैन सवै त्यसै सडेर जान्छन् । यहाँ नहुने केहि छैन तर खेति किसानी गर्ने मान्छे यहाँ छैन । खेत बाँझो भई सक्यो । मान्छे बस्ने बातावरण भएन, आफ्ना खेतवारी, घर, सम्पती सवै छोडेर सवै आसमारेर गईसके । सरकारको नजर अझै सम्म यस्तो ठाउँमा पर्न सकेको छैन, सेवा सुविधाहरु छैनन् । विद्यालयहरुमा विद्यार्थी छैनन्, खेती किसानी गर्न पानीको सुविधा छैन, विजुलीको सुविधा छैन, कुनै वर्ष पानी पर्दिएन भने अन्न उत्पादनमा धेरै समस्या हुने भएकोले तीन वर्ष सम्म चल्ने अन्न राखेर काम गर्नु पर्ने अवस्थाले गर्दा मानिसहरु बसाई सरेर गएका हुन् भन्ने पनि वहाँको भनाई रहेको छ।

“संस्कृति, परम्परा, ठुलठुला पुजापाठ यो गाउँमा हुने गर्दथ्यो, वल्लो पल्लो गाउँ तथा वडाबाट पुजापाठका लागि लयाँटीमा आउँथे । चाडपर्वमा मानिसहरुको जमात हुन्थ्यो, धेरै रमाईलो हुन्थ्यो । अहिले संस्कार, संस्कृति, परम्परा, रितिरिवाज सबै सकिन लागे । अहिले बुढापाखा बाहेक कोई छैन । सुन्तला लगायौं भने एक वर्षमा फल्दैन, फल लाग्न ५/६ वर्ष लाग्छ, अन्य खेतिपानी गर्नका लागि जनावरको आतंक सहनु पर्ने, बाख्रा पालन गरे भने एक वर्षमा एउटा बाख्रा १०/१५ हजारको हुन्छ । भारत गएर मानिसहरु एक महिनामै कमसे कम १५/२० हजार भारतीय रुपैया कमाउछन् । त्यो पैसाले उनिहरु तराईमै घर लगाउनछन् ।” वहाँले भन्नु भयो ।

त्यसै गरि छोरालाई उज्वल भविष्यको खोजीमा भारत र तराई पठाएकी आमाहरु एक्लोपन, अभाव, र असहज जीवनका बीच आफ्ना भावनाहरू मनभित्रै थामेर दिन कटाइरहेको व्यथा गाउँका वुढि आमाहरुले सुनाए । बाटोमा कसैले थाम्ने सहारा छैन, बिरामी पर्दा स्याहार गर्ने कोही छैन। छोराको फोनको प्रतीक्षामा रातभर निन्द्रा लाग्दैन, अनि प्रत्येक चाडपर्वमा उनका आँखा छोराको बाटो हेर्दै ओभाउँने पिडा बुढी आमाहरुले सुनाए । गहभरि आँसु लिएर एक जना बुढि आमाले भन्नु भयो “बोगटानको पहाडमा ऐसेलु रोएको कस्ले देख्छ र बाबु ? यहाँ बाँझो खेत रोएको छ । बुढेसकालमा सहारा दिन छोराहरु आउँछन् कि भन्दै वुढीआमाहरु रोईरहेका छन् । अन्न नहुँदा चराहरु पनि गाउँमा आउन छोडेका छन् । चाडपर्वमा हुने रमाईलो पनि साथ छोडेको छ । यस्तै छ यहाँ ।”

त्यस्तै एक जना वुढा बाजेले भरखरै भीरबाट लडेर एक आईमाईको मृत्यु भएको खबर बडो दुःखदायी तरिकाले सुनाए । “उनका घरमा कोहि छैनन् । आफै खेतवारी हेर्ने, गाई बाख्रा हेर्ने नजिकैको एक महिला बाख्रा चराउन घरबाट निस्केकी थिइन् । साँझ बाख्रा घर फर्के तर उनि फर्केनन् । बाघले खाए होला भन्ने गाउँवासीहरु राती जंगलको भिरमा खोजी कार्यका लागि निस्केपछि भिरबाट लडेर ज्यान गएको थियो। उनको श्रीमान् ३ दिन पछि भारतबाट आएर दाहसंस्कार गरेका थिए ।” उनले भने ।

बोगटान फुड्सिल गाउँपालिका ३ नं. वडा अध्यक्ष कृष्ण बहादुर बमले पहिले सुविधा नभए पनि मानिसहरु गाउँमा बस्दै आएका तर अहिले टोलटोलमा सडक पुगेछ, सवारी साधान पुगेछ, ठाउँठाउँमा खानेपानीको सुविधा छ, गाउँगाउँ सम्म एम्बुलेन्स पुगेको छ, स्वास्थ्य ईकाईहरु थुप्रैछन् । विद्यालय पनि छन् । त्यैपनि यहाँका मानिसहरु तराईमा १० धुर भए पनि किन्ने, बालिबालिकाहरुलाई त्यहाँ राख्ने पढाउने र आफु भारत तिर कमाउने जाने अवस्था रहेको बताए । उनले भने “रोक्न सक्ने अवस्था छैन । मानिसहरु सेवा र सुविधामुखी भए । मानिसहरु यहाँ सुविधा छैन भनेर गएका छैनन् उनिहरु जसरी पनि आफ्ना बालबालिकाहरुलाई राम्रो ठाउँमा पढानु पर्छ, लेखाउनु पर्छ भन्ने उद्देश्यले यहाँबाट बसाई सराई गरि तराई लाग्ने गरेका छन्।” कृषिको सम्भावना छ तर कृषि गर्ने मानिस कम भएर जनावरहरु सवै बालिहरु नोक्सान गरिरहेका छन् । कोटीला, चन्नाडा, लयती, ईनाडा गाउँ पुरै खाली भैसकेको र धौलावस्तीबाट भने कम बसाईसराई भएको छ । पालिकाबाट केहि व्यवस्था भयो भने केहि वर्ष वस्लान तर फेरी पैसा कमाई सकेपछि तराईमै जग्गा किनेर उतै बस्न गईहाल्छन् । यिहिरुलाई रोक्ने कुनै उपाय छैन । टोलटोलमा विजुली बत्ति पुगाउन केहि बाँकी छ, पलचौरमा सडक पुग्न बाँकी छ । पहल भएको छ । टेन्डर भएको छ । पहिरो गएर सडक बन्न ढिलाई भएको छ भन्ने वडाध्यक्ष बमको भनाई रहेको छ ।

अवको स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले सन्तुलित विकासको योजना तथा निती ल्याउन जरुरी रहेको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाको भनाई छ। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी सवै सेवा सुविधा सम्पन्न ठाउँमा मानिसहरु बसाई सरेर जानु स्वभाविक हो ।

त्यस कारण मध्य पहाडी लोकमार्ग, सेति लोकमार्ग, बोक्तानको सडकलाई सरकारले सन्तुलित विकासको योजनामा राख्यो भने यस ठाउँलाई पनि केन्द्र बनाउन सकिन्छ र बसाई सराई रोक्न तथा अन्य जिल्लाका मानिसहरुको बनाई सराई गरेर बोक्टान फुड्सिल गाउँपालिकामा आउने बातावरण बनाउन सकिन्छ भन्ने पनि वहाँको भनाई रहेकोछ। “उत्पादनलाई राष्ट्रका हरेक ठाउँ तथा बजारमा पु¥याउने निति सरकारले ल्याउन जरुरी छ।” उनले भने ।
