
असार १,
कैलालीको जोशीपुरमा “उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम” अन्तरगत हजार दिनका आमाहरुलाई ९ दिने तालिम दिइएकोछ । जोशीपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा लि–वर्ड संस्थाको सहकार्यमा जेठ २३ गते देखि असार १ गते सम्म आमाहरुलाई जोशीपुर ३ भैगैयामा पोषण तालिम दिइएको हो । पोषण व्यवहार परिवर्तनका लागि शिक्षा, पारिवारीक पोषण सुधारका लागि व्यवस्थित घर बगैचाको स्थापना र सरसफाई सम्बन्धि असल अभ्यासहरुको अवलम्वन वारे दिइएको तालिमको मुलनारा “सुनौलो १००० दिनका आमाहरुलाई पोषण पाठशाला” रहेको थियो ।

समापन कार्यक्रममा स्वागत मन्तव्य दिंदै सहभागि सत्रानी देवी डंगौराले खुशी व्यक्त गर्दै पोषण र कुपोषण वारे जानकारी, सन्तुलित भोजनको परिचय, सरसफाईको महत्व, घर बगैचाको व्यवस्थापन, गर्भवती महिलालाई पोषण र सुरक्षा, बच्चाको स्याहार सुसार, चेकजाँच तथा खोप लगाउने वारेमा सिकेको सुनाईन् । उनले भनिन् “भंगैया जोशीपुरकै विकट क्षेत्र अन्तरगत पर्ने गाउँ हो । यहाँ महिलाहरुको लागि आज सम्म कुनै तालिम आएको थिएन । हामी धेरै खुशी छौं। यस्तो कार्यक्रम प्रत्येक वर्ष ल्याएर आउनुहोला भन्ने उपाध्यक्ष ज्यूलाई हाम्रो विनम्र अनुरोध छ।”

त्यसै गरि स्वास्थ्य शाखा प्रमुख निर्प राज डंगौराले यस क्षेत्रमा कुपोषण बालकालिकाको संख्यामा वृद्धि भएको बताउनु भयो । “तालिम लिनु भएका तपाई सवै अव परामर्शकर्ता हुनुहुन्छ । आ–आफ्नो गाउँटोलमा एक हजार दिनका आमाहरुले खानु पर्ने पोषण, बच्चा र आमाको स्वास्थ्य चेकजाँच, सुरक्षा तथा सरसफाई वारे सिकाउनु होला ।” वहाँले भन्नु भयो ।

त्यसैगरि मुक्त कमैया शिविरलाई मुख्य प्राथमिकतामा राखी यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो । कुपोषण रहित समाज र कुपोषण मुक्त पालिका बनाउने दिर्घाकालिन योजना रहेको पनि वहाँले जोड्नु भयो ।

कार्यक्रमका सभापति एवं ३ नं. वडा अध्यक्ष रेणु कुमारी डंगौराले कुपोषण मुक्त समाजको निर्माण गर्न तालिम लिएका आमाहरु, स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मी सवैको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । वहाँले स्वास्थ्य सँग कृषि पनि जोड्न आवश्यक रहेको समेत व्यख्या गर्नु भयो । आफ्नै करेसाबारी, घर बगैचा, कौसी खेति गरि आफुलाई चाहिने फलफुल, गेडागुडी, तरकारी, सागसब्जी उत्पादन गरि अनावश्यक पैसा खर्च हुनबाट जोगिन आवश्यक रहेको समेत वहाँले विश्लेषण गर्नु भयो ।
कार्यक्रममा सहभागिहरुले सांस्कृतिक नाच र पोषण सम्बन्धि सन्देशमूलक गीत समेत प्रस्तुत गरेका थिए ।
