
भाद्र ११,
थारु समुदायले कृष्ण जन्माष्टमीको दिन मनाईने पुजा “अष्टिम्की” को खास अर्थ खोज्न जानकी गाउँपालिका कैलालीले ४ दिने अष्टिम्कीमा बनाईने थारु लोक चित्रकलाको प्रतियोगिता सम्पन्न गरेको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान काठ्माडौंले चित्रकलाको प्रशिक्षण दिएको थियो भने चित्रको वारेमा थारु विज्ञहरुले विश्लेषण गरेका थिए ।

“अष्टिम्की” को चित्रमा मानव जीवनको जीवन दर्शन चित्रण गरिएको साब्दीक अर्थ विद्यमान रहेपनि यथार्थ चित्रण गर्ने थारु विज्ञहरु कमै छन् । “अष्टिम्की” को चित्रकलामा थारु समुदायको आफ्नै ईतिहास छ । जुन पुर्खा अथवा बुजुर्गहरुलाई मात्र थाह छ । यसमा बनाईएका दीन, जोन्ह्या, रहुली मछरिया, पाँच पाण्डव, मजोर, हर्ना, कुकुर, विच्छी, नाच, लवलीया, लाउ, दुल्हा दुल्ही, केच्ना, कजरिक बन्वा, रौना, हर्ना, कान्हा, हरजुवा, घोरुवा, हथिया, गोहुवा, बन्द्रा आदिको आफ्नो आफ्नो मौलिक ईतिहास लुकेको छ । कार्यक्रममा संस्कृति विज्ञहरुसँग विच छलफल र विश्लेषण भएको थियो । चित्रको वारेमा डा.कृष्णराज सर्वहारीले व्याख्या विश्लेषण गर्नु भएको थियो ।

“शिक्षा, स्वास्थ्य, कृषि र बातावरणमैत्री पूर्वाधार । पहिचान सहितको जानकी गाउँपालिकाको मूल आधार” जानकी गाउँपालिकाको मूल नारालाई सार्थकता प्रदान गर्न यो कार्यक्रमको आयोजना गरेको गा.पा.अध्यक्ष गणेश चौधरीले बताउनु भयो । “थारु संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि पनि कार्यक्रमको आवश्यकता छ । छलफल र बहसको आवश्यकता छ ।” उनले भने ।
नाथराम चौधरीका अनुसार थारुहरुको मुखमा झुण्डीएको जय गुरवावाके जन्मौति एक पहिलो धर्म ग्रन्थ हो । बर्कीमार दोस्रो धर्मग्रन्थ, फुलवार तेस्रो धर्मग्रन्थ हो । थारु पुराणको रुपमा सखिया, बर्की मारलाई थारु महाभारत, अष्टिम्कीलाई थारु भागवतको रुपमा व्याख्या गर्न सकिन्छ ।
भाद्र ८ गते देखि ११ गते सम्म भएको प्रशिक्षणात्मक लोक चित्रकला प्रतियोगितामा चौथो चन्द्रलाल चौधरी, सम्झना चौधरी तेस्रो, संगीता चौधरी दोस्रो र जुना चौधरी प्रथम स्थान हुनुभएको छ । वहाँहरुलाई पालिकाले प्रमाण पत्र तथा नगदराशीले सम्मान सहित पुरस्कृत गरेको थियो ।

कार्यक्रममा पालिकाको लक्ष्य तथा उद्देश्यमा प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण वुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधि, कर्मचारी सवैलाई प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । यो थारु लोकचित्रकला तथा मुर्तिकला प्रवद्र्धन कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने पनि वहाँले बताउनु भयो ।