
TN Joshi सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान
सुदूरपश्चिममा मनाइने गौरापर्वको मुख्य दिन आज गौराष्टमी,दूर्बाष्टमी अर्थात् अठवाली मनाइदैछ। पूजनका हिसाबले आज गौरापर्वको अन्तिम र महत्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला( आँगन) मा लगेर पूजा गर्ने चलन छ।आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ’सञ्ज्या’ लाई ल्याउने गरिन्छ। ’दूर्बा’ अर्थात् दुबोको पूजा गरिने हुदा दूर्बाष्टमी भनिएको हो। अष्टमी र दुबो दुबै भगवतीका लागि प्रिय छन्।त्यसैले गौरापर्व मनाइने क्षेत्रमा आजको दिनको विशेष महत्व छ।यसका साथै तागाधारी पुरूषका लागि ऋषितर्पणी वा जनैपूर्णिमाको महत्व भएजस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्व छ । पबित्र धागोबाट निर्माण गरिएको ’दुबोधागो’ लाई बिधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन् । पुरानो मान्यता अनुसार दुबोधागो ग्रहण नगरिएका महिलाहरूले भात भान्सा गर्न र गौरा पुज्ने अधिकार पाउँदैनथे।हिमालयकी पुत्री पार्वतीको अर्को नाम गौरी हो । गौरी शब्द बिभेद वा अपभ्रंस भइ यसपर्वलाई सुदूरपश्चिमेली स्थान विशेषको जनबोलीमा कतै गोःरा, गौरा वा गमरा भनिदै आएको पाइन्छ । आज गौराष्टमी अर्थात् दूर्बाष्टमीका दिन लोली गौरा र सञ्ज्या गौराको सौतीमिलन गराइ मंगलगान (फाग) गाएर पूजा अर्चना सकेपछि सबै ब्रतालु महिलाहरू मिलेर गौरा महेश्वरलाई त्यहाँबाट उठाइ सूर्यार्घ दिन्छन् र त्यसपछि अठवाली पूजा गर्ने गौराको खलामा राख्छन् । अठवाली गान सकेपछि फल फड्काउने, सूर्यको पूजा गर्ने र प्रसादको रूपमा टिका, फूल एबम् पञ्चबिरूडा बाँड्ने तथा देउडा खेल्ने प्रचलन छ । सांस्कृतिक तथा सांगीतिक पर्व गौरा सुदूरपश्चिम प्रदेशको बेग्लै धरोहर हो जसभित्र यहाँको समग्र लोकजीवन प्रतिबिम्बित भएको देख्न सकिन्छ। । गौरादेवीले हामी सबैको मनोकामना पूर्ण गरून् ।