दस्तावेज नभएको कारण लोप हुदै थारु संस्कृति

सुधराम दहित,

परम्परा, रितिरिवाज, बोलीभाषा, संस्कार, संस्कृति, चालचलन, गितबाँस, हस्तकला, पुजापाठ, प्रथा पृथक रहेको थारु समाजको आफ्नै जीवन जिउने शैली छ । अष्टिम्की, अँट्वारी, अनट्टा, गुरीया, दशैं, देवारी, माघ, होरी जस्तो आफ्नै पर्व छ । अन्डीक भात, सुरिक सिकार, गेंटक चट्नी, मुस्वक चट्नी, ढिक्री, सिध्रा, पकली, सुटही, मच्छीक खेरिया खाने चलन छ । झुम्रा, सखिया, लट्ठहुवा, मुंग्रहुवा, झर्रा, मघौटा, हुर्डुङ्वा नाच संगै सिजन अनुसार गाईने गित सजना, माँगर, बल्हा, अष्टिम्कीहा गित, महाभारतको ईतिहास बोकेको धमार तथा बर्कीमार गितले सजिएको संस्कृति छ थारु समुदायको । लेहेंगा, परिया, धोती, अंगौछा, अंगीया, टोपी र गहनामा छंडिया, हुमेल, ट्उँक, पहुँची, बाजु, वीर, विजाँईठ, घुंघना, बुच्कहुवा झुम्का, गल्चुम्मी, कटेश्री रहेको छ । जव यि लगाम लगाएर गाउँमा देखिन्छन् थारु समुदायका मानिसहरु गाउँको सुन्दरता सँगै थारु भएकोमा गर्भ लाग्छ ।

अष्टिम्की बनाउने हस्तकला, माछा मार्ने ढर्हिया, डिलिया, खोंघिया, टट्री, जाल, हेल्का, छट्री, ढकीया, फेरुवा बनाउने थारुहरुको आफ्नै हस्तकला छ । डफ, बंद्रा, मंजिरा, झाली, कस्टार जस्तो बाजा जब गाउँमा बज्न थाल्छ । ठरिया, बठिन्या, लवण्डी, मेढारु, थारु सवै जनाको मन त्यहि ठाउँमा गईहाल्छ । दशैंमा जब हुर्डुङ्वा गित गाउँदै नाचदै पिट्टर असराई सवै गाउँबासीहरुको भिड लडिया, झर्नहिया, कुलुवा तिर गएको देख्दा त झन हातका रौंहरु ठाडो हुने गर्दछ र गौरवले आँखाबाट खुशीको आँसु पनि झर्ने गर्दछ । जव गाउँमा मंद्रा बज्न सुरु हुन्छ तव गाउँबाट दुःख विमार, गाउँको संकट टाढा हुन्छ भन्ने जन विश्वास अझै पनि छ ।

अलिकति भए पनि बाँडेर बटहा लगाएर खाने चलन छ । सम्बन्ध गाढा बनाउन तथा माया साँट्न ट्यौहारमा आफ्ना आफन्तजनहरुलाई अग्रासन दिन जाने चलन छ । थारु अस्तित्वलाई जोगाउदै आएका गुरुवा, भलमन्सा तथा सोर्हिन्या प्रथा छ । गाउँमा कसैलाई केहि भयो भने यिनिहरुलाई सुरुमा बोलाउने गरिन्छ । गाउँलाई रोगव्याधि, किराकाँटी, साँपगिजोर, भुतपरेटबाट बचाउन सक्ने अपार अदभुत शक्ति छ थारु गुरुवाहरुमा । हात, खुट्टा, शरिरमा केहि भयो भने घरेलु औषधिबाट ठिक गर्ने ज्ञान छ बैडावाहरुमा । घर वरिपरी पाईने जडिवुटिहरुलाई चिन्ने र गाउँका मानिसहरुलाई निशुल्क औषधि गर्ने निस्वार्थ सेवाको भावना छ गुरुवा, बैडावा र सोर्हिन्याहरुमा । परापुर्वकाल देखि बच्चा जन्माउनमा नर्स अथवा स्वास्थ्यकर्मीको काम सम्हादै आएका छन् सोर्हिन्याहरु । यस्तो छ थारु समाज ।

यस तर्फ थारु अगुवा तथा राजनितिज्ञहरुको ध्यान अझै पनि गएको देखिदैन । थारु संस्कृति, परम्परा, रितिरिवाज, भाषा, कलाको दस्तावेज नै निर्माण भएको देखिदैन । भाषिक पाठ्यक्रम नभएकै कारण थारु शब्दहरु लोप हुदै गईरहेको छ । आगन्तुक शब्द हाम्रो दैनिक बोलिने भाषा बन्दै गएको छ । बाह्य संस्कृतिले समाजमा ठाउँ ओगटेको छ । बाह्य संस्कृतिको हविले हाम्रो संस्कृति तथा संस्कारमा प्रभाव पारेको छ । संस्कृति नै हाम्रो पहिचान हो । यो गतिले संस्कृति माथि हमला भयो भने हाम्रो पहिचान हराउनमा धेरै समय लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *