
असार १५,
कैलालीको जोशीपुरमा कृषि पकेट क्षेत्रका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ। कृषि शाखाको ५० प्रतिशत ससर्त अनुदानमा कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको हो । नयाँ तरकारी पकेट समितिका अध्यक्ष हिरण चौधरीको अध्यक्षता तथा जोशीपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कृषकहरुलाई पावर टिलर २ थान, मिनि टिलर १ थान, पम्पसेट १ थान, पानी मोटर ६ थान, स्प्रे टंकी १० थान, मल्चीङ्ग प्लास्टीक ८ रोल, तिन पांग्रे लोडर १ थान, पोलिहाउस निर्माण १ सेट र विउविजन, विषादी, भिटामिन, किटनाषक औषधि, मलखाद वितरण गरिएको थियो ।

नेपाल सरकारले उद्योग कलकारखाना लाई बढि र कृषिलाई कम अनुदान दिएको प्रमुख अतिथि रामचन्द्र चौधरीले बताए । पकेट क्षेत्रका कृषकहरुलाई अनुदान दिई कृषिलाई व्यावसायिक बनाउनमा जोड दिनुपर्ने पनि वहाँले बताउनु भयो ।

त्यसै गरि जोशीपुर गाउँपालिका कृषि शाखा प्रमुख किशोर पन्तले अनुदानमा पाएका कृषि सामग्रीलाई सहि ढंगले प्रयोग गर्न सवै कृषकहरुलाई अनुरोध गर्नु भएको छ। विउविजन, विषादी, भिटामिन, किटनाषक औषधि, मलखाद कृषि विज्ञहरु तथा प्राविधिकहरुको परामर्श अनुसार प्रयोग गर्न समेत वहाँले अनुरोध गर्नु भएको छ ।
औपचारिक कार्यक्रमलाई नयाँ तरकारी पकेट कार्यक्रमका कृषि प्राविधिक अभिमन्यु चौधरीले शहजीकरण गर्नु भएको थियो ।
