भजनी १ लाई आउने असार मसान्त भित्र बालमैत्री वडा घोषणा गर्नेे सामूहिक प्रतिबद्धता

भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य सहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता यार्ड धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना अन्तर्गत उक्त प्रतिबद्धता गरिएको हो । परियोजनाले बालमैत्री स्थानीय शासन तथा पोषणमैत्री वडा निर्माणलाई प्राथमिकतामा राखेको छ ।


प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नेपाल सरकारको कार्ययोजना अनुसार स्थानीय तहहरूले बालमैत्री तथा पोषणमैत्री पालिका निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले यस अभियानलाई भजनी नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै पहिलो चरणमा वडा नम्बर १ लाई निर्धारित समय भित्रै बालमैत्री वडा घोषणा गर्ने गरी काम तीव्र बनाइएको जानकारी दिनुभयो ।
त्यसैगरी, कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायतले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।
अभियानलाई सफल पार्न नगरपालिकाका विभिन्न शाखा प्रमुख, नगर तथा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति, सरोकारवाला निकाय, संघ–संस्था, शिक्षक, अभिभावक, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री र पोषणमैत्री वडा निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *