
जेठ २१,
कैलालीको जोशीपुरमा गा.पा.उपाध्यक्ष एवं अुनगमन समिति संयोजक रेखा देवी कठरियाको संयोजकत्वमा रासायनिक खादमल विक्रि वितरण गर्ने सहकारी तथा ट्रेड सप्लायर्सको अनुगमन गरेको छ । कृषि सहकारीहरुले आफ्नो शेयर सदस्यलाई मात्र ग्राहयता दिने र ट्रेड सप्लायर्सहरुले आफ्ना कृषक जो उनिहरुलाई गल्ला दिन्छ उनिहरुलाई प्राथमिकतामा राखेर खादमल विक्रि वितरण गर्ने, डि.ए.पि.सँग अनिवार्य जिंक, पोटास कृषकले लिदिनु पर्ने, कृषकलाई आवश्यकता भन्दा वढि रासायनिक मल वितरण केन्द्रबाट लिनुपर्ने बाध्यता रहेको कृषकहरुबाट व्यापक गुनासो आए पछि जोशीपुर गाउँपालिकाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, कृषि शाखा प्रमुख, पशुशाखा प्रमुख लगायतको टोली प्रत्येक्ष फिल्ड अनुगमन गरेको हो ।

अनुगमनमा पनि त्यहि देखिएको छ जो कृषकको गुनासो छ । सहकारीहरुले आफ्ना शेयर सदस्यलाई र ट्रेड सप्लायर्सहरुले आफ्नो किसानहरुलाई र बाजारका व्यापारीहरु जस्को गल्ला व्यापार छैन उनिहरु खादमलसँग अनिवार्य जिंक, पोटास, सुपर लिएपछि मात्र यूरिया र डि.ए.पि. मल दिने गरेको पाईएको, पालिकामा सुचिकृत भएका सहकारी तथा ट्रेड सप्लायर्सहरु जुन स्थानका लागि वितरण केन्द्रको अनुमति लिइएको हो त्यो भन्दा बाहिर बजार केन्द्रित भई व्यापार गरिरहेको, थुप्रै वितरण केन्द्रको त कार्यालय नै नरहेको अनुगमन टोलीले जनाएको छ ।

विकास सहकारी संस्था जोशीपुर ३ लक्कडले आफ्नो शेयर सदस्यलाई खादमल उपलब्ध गराउने चक्करमा जोशीपुर गाउँपालिकाका कृषकहरु भन्दा अन्य पालिकाका कृषकहरुलाई खादमल वितरण गरेको पाइएको छ । साल्ट ट्रेडिङ्ग धनगढीले नै सुपर नलिए डि.ए.पि. नदिने भएको वाध्यता भए अनुरुप सहकारीले कृषकलाई डि.ए.पि. लिंदा सुपर अनिवार्य गरेको सहकारीका एक कर्मचारीले बताए ।

त्यसै गरि अपेक्षा एण्ड अनुष्का ट्रेडर्सका प्रोप्राईटर हरि प्रसाद गौतमले सहकारीले आफ्नो शेयर सदस्यलाई प्राथमिकता दिनु र व्यापारिले आफ्नो किसानलाई दिनु एउटै कुरा रहेको बताए । उनले भने “दुवैलाई पालिकाले खादमलको लागि सिफारिस गर्दछ । व्यापारीले आफ्नो किसान हेर्छ सहकारीले आफ्नो शेयर सदस्य हेर्छ । शेयर सदस्य नभएको र गल्ला नदिने किसानहरुले खादमलको चपेटामा सधैंभरि परिनै रहन्छन् । यस विषयमा सरकार नियमित अनुगमन गर्न जरुरी छ। नियमन गर्न जरुरी छ ।” त्यसै गरि सहकारीमा मल नहुनु, व्यापारी सँग प्रसस्त मल हुनु यसको कारण के हो त ? अझै पनि छापा हान्यो भने थुप्रै मल व्यापारीहरुले गोदाममा लुकाएर राखेको एक जना गल्ला व्यापारीले बताए ।

यसरी भईरहेको खादमल वितरण केन्द्रले गरेको कृयाकलापले कृषकहरु सास्ती भोगिरहेकोले यसको नियमनका लागि पालिकाले छिट्टै पहल गर्ने अनुगमन संयोजक रेखा देवी कठरियाले बताउनु भयो ।
