
सुधराम दहित/बैशाख २५,
स्थानिय सरकार आए पश्चात स्थानीय शासन सञ्चालनमा युवाहरुको अर्थपूर्ण सहभागिता रहने संविधानमा लेखिए पनि अझै यूवा मैत्रि स्थानीय शासन प्रकृयामा युवाहरुको अर्थपूर्ण सक्रिय सहभागिता देखिएको छैन । सरकारले सञ्चालन गर्ने शासन प्रक्रियामा युवालाई अर्थपूर्ण रूपमा संलग्न गराउँदा त्यसले समग्र विकास प्रक्रियामै सकारात्मक परिणाम दिन्छ । अझै भन्ने हो भने देशको शासन प्रक्रियामा युवाको सक्रिय, प्रभावकारी तथा अर्थपूर्ण सलग्नता विना नेपालको संविधान, राष्ट्रिय युवा नीति २०७२, युभिजन २०२५ ले लिएका लक्ष्य तथा उद्देश्य पुरा हुन सक्दैन।

युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, रोजगारी, सीप तथा क्षमता अभिवृद्धि, गोपनियता, लैगिक समानता लगायतको बोजना निर्माण, बजेट विनियोजन, कार्यान्वयन लगायतका सवालमा स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन, स्थानीय तहका नीति नियम, कानून निर्माण प्रक्रियामा युवाको संलग्नतालाई सुनिश्चित गर्न, संघीय, प्रादेशिक तथा स्थानीय तहले बनाएका नीति, नियम, कानूनको कार्यान्वयनमा युवाको सहभागितालाई सुनिश्चित गर्न, तीनै तहका सरकारले बनाएका नीति, नियम, कानून तथा कार्यविधिमा युवासँग सम्बन्धित रहेका प्रावधानहरूको प्रभावकारी कार्यान्ववत गर्न, पछाडि पारिएका वर्ग, समुदाय, लिङ्ग, क्षेत्र, धर्म, जातजातिका युवालाई स्थानीय तहको मूलधारमा समावेश गर्दै स्थानीय शासनमा उनीहरुको सहभागिता र संलग्नतालाई सुनिश्चित गर्न, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, आदिवासी/जनजाति दलित लगायतका पछाडि पारिएका वर्ग तथा समुदायका युवालाई शासन प्रक्रियाको मूलप्रवाहीकरणमा समाहित गर्न दवावमूलक कार्यक्रम यूवा सञ्जाल जोशीपुरको आयोजनामा न्यूस्टार क्याफेको सभाहलमा युवा मैत्री स्थानीय शासन क्षमता विकास तालिम सम्पन्न भएको छ।

स्थानिय योजना तर्जुमा गर्ने समयमा युवाहरुको सक्रिय सहभागिता हुने ठाउँमा दलीय बर्चस्व हावी भएको, पार्टी कार्यकताहरुको भौगोलिक क्षेत्र अनुसारको पूर्ण स्वामित्व रहेको र दलको निर्णयानुसार निर्दिष्ट विकास परियोजनामा सहभागीता बनाइएको स्थानिय योजना तर्जुमामा प्रस्ट देखिएको युवा सहभागिहरुको भनाई रहेको छ।
स्थानिय विकासका योजना तर्जुमामा यूवाहरुको सहभागिता अनिवार्य रहेको तर अझै स्थानिय सरकारले यस विषयमा गम्भिर नरहेको कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले बताउनु भयो । “लक्षित वर्गका हक अधिकारका लागि युवाहरुको सक्रिय भई योजना तर्जुमामा सहभागिता देखाउनुस् ।” वहाँले भन्नु भयो ।
त्यसैगरि वर्ग, समुदाय, लिङ्ग, क्षेत्र, धर्म, फरक क्षमता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न स्थानिय शासनमा युवाहरुको अगवाई, खोजीनिती, लक्षित वर्गको योजना समावेशीकरणमा युवाहरुको सक्रियता हुन आवश्यक रहेको जोशीपुर गा.पा. शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले बताउनु भयो ।

जोशीपुर गाउँपालिकाले युवाहरुलाई लक्षित गरि कुनै किसिमको अल्पकालिन तथा दिर्घकालिन योजना नबनाएकोमा दुःख व्यक्त गर्दै कार्यक्रमका सभापति तथा युवा सञ्जालका अध्यक्ष सन्तोष वि.क.ले हरेक वर्ष योजनाका लागि सकस गर्नु पर्ने बताए । उनले भने “यस वर्ष जोशीपुर गाउँपालिकाले पालिका स्तरिय खेलकुदको योजना समेत नबनाई यहाँका युवाहरुलाई अधिकार हनन गरि कार्य गर्दै आएको छ । यस प्रति युवाहरुको घोर आपत्ति रहेको छ। आगामी दिनहरुमा युवा लक्षित योजनाहरुको बनाईयोस् ।” जोशीपुर गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमलाई नवराज खनालले प्रशिक्षण गरेका थिए भने तालिमलाई युवा सञ्जालका कोषाध्यक्ष भुमि सागर सुनारले सहजीकरण गरेका थिए ।


