बाध्यताले शिक्षाबाट बञ्चीत बन्दै बालबालिका

सुधराम दहित/बैशाख २४,
बाध्यताले बालबालिकाहरु शिक्षाबाट बञ्चीत बन्दै छन् भन्ने एक अध्ययनले देखाएको छ। जोशीपुर, भजनी, जानकी, टीकापुरका गरिव, अतिविपन्न परिवारका बालबालिकाहरु अझैपनि आफ्नो बाबाआमा सँग कपिलबस्तु लगायत विभिन्न ईटा उद्योगमा काम गर्न बाध्य छन् । आमा बाबा कामको सिलसिलामा कपिलबस्तु, दाङ, बुटवलका ईटा भट्टामा जाने तर उनिहरुको बालबालिकाहरु पनि घरमा स्याहार सुसार गर्न कोही नभएपछि विद्यालय छाडेर ईटा भट्टामा काम गर्न जान बाध्य भएको घरघरमा शिक्षा (Education in Every Home) भन्ने संस्थाले तथ्याङ्क संकलन गरेको छ। जसमा विशेष गरि जोशीपुर, भजनी, टिकापुर र जानकीका बालबालिकाहरु रहेका छन् ।

निति, साझेदारी, कानुनी र स्थानीय सवलीकरण कार्यक्रम अन्तरगत Education in Every Home ले संस्थाका संस्थापक निर्देशक होमराज आचार्य र संस्थाका फिल्ड कोर्डिनेटर महेन्द्र खनालको टोली जोशीपुर गाउँपालिका, जानकी गा.पा., बर्दगोरिया गा.पा. र टीकापुर नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, वि.व्य.स. अध्यक्ष, शि.अ.संघका अध्यक्ष एव. प्रतिनिधि, भलमन्सा बडघर लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुसँग समूहगत छलफल गरेकोछ ।
विद्यार्थीहरु भर्ना मात्र हुने तर विद्यालय नआई कन आफ्नो अभिभावक सँग काम गर्न बाहिर जाने गरेको र उनिहरु एकैचोटी परिक्षा दिन आउने, कोहि कोहि त परिक्षा नै नदिन आउने राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाका वि.व्य.स. अध्यक्ष विष्णु प्रसाद डंगौराले बताए ।

यस क्षेत्रमा रोजगार नपाए पछि अनेत्र जिल्लाको ईटा भट्ठामा काम गर्न वाध्य हुने बालबालिकाहरुको घरमा स्याहार गर्ने कोई नभएपछि बालबालिकाहरु पनि आमा बुवासँग काम गर्न जान बाध्य भएको राष्ट्रिय मा.वि. डहरवेरियाका प्र.अ. लिला राम ओलीले बताउनु भयो । वहाँले भन्नु भयो “विद्यालयबाट निशुल्क शिक्षा दिन सकिन्छ, पोशाक तथा पाठ्य पुस्तक उपलब्ध गराउन सकिन्छ तर उनिहरुका लागि विद्यालयमा आवासको व्यवस्था गर्न सकिदैन ।”

बर्दगोरिया गा.पा. ४ मुक्त कमैया नौनिया निवासी छिमानन्द चौधरी आफु पनि ईटा भट्ठामा काम गर्दै गरेको बताए । सरकारले ५ कट्ठाको नाममा साढे ४ कट्ठा जग्गा दिएको र आफुहरु ४ भाई रहेको बताए । एक कट्ठामा घर बनाउने कि कुनै व्यवसाय गर्ने बाध्यतावस स–परिवार इटा भट्ठामा काम गर्न जाने उनले बताए । गाउँमा बसेर बेरोजगार चौधरीले दैनिक गुजारा गर्न निकै गाह्रो भएको र ईटा भट्ठाका मालिकले पहिले नै पेश्की दिने प्रति १ हजार ईटा बनायो भने एक हजार देखि १२ सय रुपैया सम्म दिने भएकोले काम गर्न सहज भएको र दैनिक गुजारा गर्नमा सहयोेग पुग्ने उनले बताए ।

बालबालिकाको आधारभुत शिक्षा तथा बाल अधिकारका वारेमा विभिन्न संघ संस्थाहरुले पहल र प्रयास गरेपनि बालबालिकाहरु शिक्षाबाट बञ्चित भईरहेको जोशीपुर गा.पा. १ नं. वडा अध्यक्ष राम चन्द्र चौधरीको भनाई छ। सरकारले बाल अधिकार तथा बाल श्रम सम्बन्धि निति ल्याए पनि लागु गर्न नसकेकै कारण बाल बालिकाहरु भट्टामा काम गर्न बाध्य भएको पनि अध्यक्ष चौधरीले बताए ।
गरिव, मुक्त कमैया, सुकुम्बासी तथा अति विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न Digital Student, Digital School सहित आवासिय विद्यालयको अवधारणा सरकारले ल्याउन आवश्यक रहेको संस्थाका निति विश्लेषक एवं Education in Every Home संस्थाका संस्थापक होमराज आचार्यको बुझाई रहेको छ ।
“क्षेत्रिय नीति र नीति कार्यान्वयनको रणनीति निर्माण गर्न मज्दुर एवं बालश्रमिकहरूको ग्राउन्ड लेभलको अनुभवले नीति निर्माणमा स्पेस पाउनु पर्छ । पालिकाहरुले स्थानीय तहमा नागरिक सम्मेलन (citizens summits) आयोजना गरी जनताका आवश्यकता र प्राथमिकताहरुको दस्तावेजिकरण गरिएको प्रमाणित सुचनाका आधारमा रणनीतिहरू बन्ने हो भने त्यस्ता रणनीतिहरु कार्यान्न्वयन योग्य हुन्छन् ।

श्रमिक स्रोत जिल्ला र गन्तव्य जिल्ला वा स्थानीय निकायवीच सहकार्य भएमा श्रमिकका समस्याहरु समाधान हुने भरपर्दो रणनीति हुन सक्छ । संघीय, प्रदेश र स्थानीय सरकारहरुले इमान्दारिताका साथ आफ्नो दायित्व निर्वाहन गर्ने हो भने बालश्रमको अन्त्य छोटो समयमा गर्न सकिन्छ ।” आचार्यले भन्नु भयो । यस विषयलाई संबोधन गर्न ILO / Education in Every Home बीच सहकार्य भएको छ । अनुसन्धानबाट निस्कने नीचोडले समस्याका दीर्घकालिन समाधानका उपायहरु बताउने आशा गरिएको छ । नीति, साझेदारी र सिकाइ र स्थानीय सबलिकरण कार्यक्रम अन्तरगत ग्राउण्ड लेवलमा गई अध्ययन अवलोकन, अनुसन्धान तथा सुझाव संकलन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *