जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण सम्पन्न

असार ५,
कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण कार्यक्रम आमभेला जनप्रकाश मा.वि. मुद्धिमा सम्पन्न भएको छ । २ नं वडा सदस्य एवं जोशीपुर प्राथमिक स्वास्थ्य केन्दको व्यवस्थापन तथा संचालक समितिको उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको सभाध्यक्षता, जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता तथा गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जोशीपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मार्शल पन्त, महिला स्वय् सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, भलमन्सा, स्वास्थ्य शाखाका संयोजक नृप चौधरी लगायतको उपस्थितिमा जोशीपुर गाउँपालिकाको आर्थिक सहयोग तथा समावेशी आवाज मञ्च (साफ) नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य सेवा र समुदाय स्वास्थ्य क्रियाकलापहरुको वारेमा जानकारी गराई पारदर्शिता कायम गर्नु, आम नागरिकहरुमा स्वास्थ्य सेवा प्रति उनिहरुको अधिकार, जिम्मेवारी र अपनत्वको भावना विकास गर्नु, स्वास्थ्य प्रदायक निकायहरुलाई आम नागरिहरु विशेष गरि महिला, गरिव एवं बञ्चित समुदाय प्रति जवाफदेहि बनाउनु, आम नागरिकहरुमा स्वास्थ्य सम्बन्धि सुचना माग गर्ने र सेवा प्रदायहरुमा सुचना प्रवाह गर्ने संस्कार स्थापित गर्ने सामाजिक परिक्षणको उद्देश्य रहेको थियो ।
जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एउटा मात्र डाक्टर भएकोले सेवा प्रवाहमा समस्या भएको डा.राजकुमार चौधरी बताउनु भयो । प्रशासन फाँट, लेखा, विरामी जाँच आफै गर्नु पर्ने भएकोले सेवामा समस्या आएको वहाँले बताउनु भयो । सेवाग्राहीहरुलाई सेवा दिन जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा ३ वटा डाक्टरको आवश्यकता रहेको वहाँको भनाई रहेको छ।
जनशक्तिको कमि, नाईट ड्युटी दिने स्वास्थ्यकर्मीहरुलाई थप तलब भत्ता तथा क्वाटर (रुम) को व्यवस्थापन नुहुन, स्वास्थ्य कर्मचारीहरुलाई ई्रन्धनको व्यवस्था नहुनु, औषधिको उचित व्यवस्थापन नहुनु जस्ता समस्याहरु स्वास्थ्य केन्द्रको मुख्य समस्या हो । एम्वुलेन्स सेवा निरन्तर प्रवाह हुन नसक्नु अर्को समस्या छ।

पहल र प्रयोसहरु
प्राथमिक स्वास्थ्य केन्द्रको वर्थीङ्ग सेन्टरमा एसि जडान गरिएकोले जन्मीने बच्चाहरुलाई तापक्रममा सहज भएको छ । ल्यावलाई स्तरउन्नति गरि व्यवस्थीत बनाईएको छ। ईमर्जेन्सी वार्डहरुमा पनि एसि जडान गरिएकोले विरामीलाई सहज भएको छ । वालविवाह न्यूनिकरणका लागि प्राथमिक स्वास्थ्य केन्द्रले विद्यालयमा गई चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने प्रयास गरिरहेको छ ।
कार्यक्रममा प्रस्तुत गरिएको वार्षिक आय–व्यय विवरण पारदर्शी र वास्तविक नरहेको समाजसेवी वुद्धिजिवीहरुको भनाई रहेको थियो । गा.पा. अध्यक्ष एवं. उपस्थित समाजसेवी वुद्धिजिवीहरुलाई आयव्ययमा चित्त नबुझे पछि आर्थिक प्रतिवेदन प्रस्तुत गर्नबाट रोकिएको थियो । रोकिएको आर्थिक प्रतिवेदन पछि प्रस्तुत गर्ने प्रशासन पक्षको भनाई रहेको छ । करोडौंको कारोवार हुने स्वास्थ्य केन्द्रको आर्थिक प्रतिवेदन भने लथालिङ््ग छ ।
गुणस्तरिय स्वास्थ्य दिन जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाँको अस्पताल बनाउन र प्राथमिक स्वास्थ्य केन्द्र रहेको जग्गाको लालपुर्जाको लागि पहल भई रहेको प्रमुख अतिथि चित्र बहादुर चौधरीको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *