
चैत्र ५,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगत स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरु महिनौ दिन सम्म तलव नपाउँदा आन्दोलित भएका छन् । स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरु २०७९ साल कात्तिक महिना देखि हाल सम्म तलव नपाए पछि आन्दोलन गरेका हुन् । सम्बन्धित निकायमा पटक पटक मौखिक र लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको र माग प्रति सम्वन्धित निकायले वेवास्ता गरेको आन्दोलित रहेका कर्मचारीहरुको भनाई छ । जोशीपुर पालिका अन्तरगतका सम्पूर्ण स्वास्थ्य क्षेत्रका स्थायी कर्मचारीहरुको संयुक्त बैठकले चरणबद्ध रुपमा आन्दोलन गर्ने व्यहोरा जानकारीका लागि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी र प्रमुख प्रशासकिय अधिकृत धर्मराज खत्रीलाई ज्ञापन पत्र बुझाएका छन् । चैत्र ६ देखि ७ गते सम्म कालो पत्ति बाँधेर विरोध गर्ने र ८ गते माग पुरा नभए सम्म आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने पत्रमा उल्लेख छ।

यस विषयमा जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज खत्रिले स्थायी कर्मचारीहरुको तलव पालिकाबाट नरोकिएको बताउनु भयो । स्वास्थ्यका स्थायी कर्मचारीहरुको तलव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आउने ससर्त अनुदानको बजेट पुरा नआएर समस्या भएको वहाँको भनाई छ ।

त्यसै गरि गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले पालिकाबाट स्थायी कर्मचारीहरुको तलव पुर्ती गर्ने कुनै विकल्प नरहेको बताउनु भयो । वरु बजेटका लागि मन्त्रालयमा डेलिकेशन जाने वहाँले बताउनु भयो ।

जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा अन्तरगतको वजेटलाई स्रोतभर्ना हुने गरि तलवको व्यवस्था गर्नका लागि समेत स्वास्थ्य शाखामा बजेट नरहेको स्वास्थ्य शाखा प्रमुख टेक बहादुर हमालले बताउनु भयो ।