
असोज १२,
कैलालीको जोशीपुरमा १६ औं रेबिज दिवस मनाइएको छ। जोशीपुर गाउँपालिका पशुसेवा शाखाको आयोजना तथा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ जोशीपुर गाउँपालिका कार्य समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्र धनगढी र नेल्टा सुदुरपश्चिम प्रदेश कार्यसमितिको भ्याक्सिन सहयोगमा दिवस मनाइएको थियो । आज देखि जोशीपुरमा घरपालुवा कुकुर, विरालो लाई निशुल्क भ्याक्सिन लगाउन सुरु भएको छ ।
असोज १२ गते देखि १५ गते सम्म जोशीपुर गाउँपालिका पशुसेवा शाखामा निःशुल्क भ्याक्सिन लगाइने शाखा प्रमुख नारायण चौधरीले बताउनु भयो ।

“एक स्वास्थ्यको अवलम्बन, रेविजबाट शुन्य निधन” मूल नारा रहेको कार्यक्रममा सभाध्यक्ष जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले गाउँगाउँमा भुस्या कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउन आवश्यक रहेको बताउनु भयो ।

भुस्या कुकुरहरुको संख्या नियन्त्रण गर्नका लागि जोशीपुर पशु शाखालाई बन्ध्याकरण भ्याक्सिनेशन गर्न अनुरोध पनि गर्नु भएको छ। यसका लागि योजना बनाई प्रकृया समेत अगाढी बढाउन पनि वहाँले बताउनु भयो ।

प्रमुख अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरियाले रेविज सम्बन्धि जानकारी आज जनताहरुमा हुन आवश्यक रहेको बताउनु भयो । यसका लागि गाउँगाउँमा यस्ता कार्यक्रम गर्न आवश्यक रहेको पनि वहाँले बताउनु भयो । वडा अध्यक्षहरु, युवा सञ्जाल, जेसीज लगायत जोशीपुर गाउँपालिका भित्रका भेटेरिनरीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।