
सुधराम दहित/बैशाख २७,
कैलाली — सिमा क्षेत्रमा भारतीय सामानको आयातमा सरकारले कडाई गरेसंगै जोशीपुर र भजनी क्षेत्रका स्थानीय व्यापारी तथा कृषकहरूमा उत्साह देखिएको छ। लामो समयदेखि भारतीय सस्तो सामानका कारण प्रभावित स्थानीय उत्पादन र व्यापार अहिले क्रमशः सुधारतर्फ उन्मुख भएको उनीहरूको भनाइ छ ।

स्थानीय व्यापारी तथा जोशीपुर बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णु प्रसाद डंगौराका अनुसार भारतीय वस्तु सहज रूपमा भित्रिँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको थियो। जसका कारण स्थानीय पसलहरूमा व्यापार घट्दै गएको थियो। तर हाल आयात नियन्त्रण भएपछि ग्राहकहरू स्थानीय बजारमै निर्भर हुन थालेका छन्, जसले व्यापारमा सकारात्मक उर्जा थपेको छ ।

उता कृषकहरू पनि यस निर्णयबाट सन्तुष्ट देखिएका छन्। भारतीय तरकारी तथा खाद्यान्नले बजार ओगट्दा आफ्ना उत्पादनले उचित मूल्य नपाएको गुनासो गर्दै आएका किसानहरूले अहिले भने आफ्ना उत्पादनको माग र मूल्य दुवै बढेको बताएका छन्। विशेषगरी तरकारी, धान, गहुँ लगायतका बालीको बिक्रीमा सुधार आएको कृषक राम प्रसाद कठरियाको भनाइ छ।

स्थानीय सरोकारवालाहरूले यो अवस्थालाई दीर्घकालीन बनाउन सरकारसँग थप नीतिगत रुपमा बलियो भएर निकास दिन र सीमामा कडाइ निरन्तर राख्न, स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र बजार व्यवस्थापन सुदृढ गर्न आग्रह गरेका छन्।
जोशीपुर गाउँपालिकाको अगाडी प्रत्येक मंगलबार र शनिवार लाग्ने कृषि हाट बजारमा स्थानिय कृषि उपज खरिद गर्न आएका उपभोक्ताहरूले तरकारीको मूल्यमा केहि बृद्धि भएको प्रति चिन्ता व्यक्त गरेका छन्। उपभोक्ताहरु अहिले महंगीको मारमा परेका छन् । यस विषयमा सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ।

समग्रमा, सिमा क्षेत्रबाट भारतीय सामान आयात कडाईले आन्तरीक अर्थ चलायमान भएको र लामो समय सम्म यो प्रकृया चल्यो भने स्थानिय कृषिक, व्यापारी, उपभोक्ता सवैको अर्थ व्यवस्थामा थप सहयोग पुग्ने युवा कृषक तथा लोकपृय युवा नेता पूर्व माननिय गंगा चौधरीको विश्लेषण छ ।
