स्वस्थ शरीर र सकारात्मक जीवनका लागि जोशीपुर जेसीजको विशेष प्रशिक्षण

जोशीपुर, चैत्र २४/
विश्व स्वास्थ्य दिवसको विशेष अवसर पारेर जोशीपुर जेसीजले “स्वस्थ शरीर, स्वस्थ मस्तिष्क” भन्ने मूल मन्त्रका साथ एक वृहत् स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल सरकारको दिगो विकासका लक्ष्य मध्ये (SDG 3: Good Health And Well Being) स्वस्थ जीवन समृद्ध भविष्य लाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रम मोहन्याल माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रममा जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नृप चौधरीले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई शारीरिक स्वास्थ्यको रक्षा, सरसफाइ र मानसिक स्वास्थ्यको महत्त्वबारे विशेष जानकारी गराउनुभयो। किशोरावस्थामा देखिने स्वास्थ्य समस्या र तिनको निराकरणका उपायबारे उहाँले प्रयोगात्मक जानकारी दिनुभएको थियो।

त्यस्तै, अर्का विशिष्ट प्रशिक्षक एवं सहारा घरका सञ्चालक बल बहादुर विष्टले विद्यार्थीहरूलाई उत्प्रेरणात्मक (Motivational) प्रशिक्षण दिनुभएको थियो। उहाँले जीवनको वास्तविक उद्देश्य, समाजप्रतिको कर्तव्य र एक असल नागरिक बन्नका लागि लिनुपर्ने संकल्पका विषयमा चर्चा गर्नुभयो। विष्टले विद्यार्थीहरूलाई कुलतबाट टाढा रही सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो।

मोहन्याल मा.वि.का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम सफल पार्न विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद शाह र इलाका प्रहरी कार्यालय जोशीपुरका इन्चार्ज नरेन्द्र चन्दले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

जोशीपुर जेसीजले कार्यक्रम भव्य रूपमा सफल भएकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य शाखा, विद्यालय परिवार, सुरक्षा निकाय, कार्यक्रम संयोजक र सम्पूर्ण जेसीज पदाधिकारीहरूमा हार्दिक आभार व्यक्त गर्दै जेसीजले आगामी दिनमा पनि यस्ता समुदायमुखी र विद्यार्थी लक्षित सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिने जोशीपुर जेसीजका अध्यक्ष जीवन डगौराले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *