दहित गोत्र पहिचान र कुल पुजामा एकरुपताका लागि दहित समाज सम्मेलन

चैत्र २१,
कैलाली — दहित समाज कैलालीको आयोजनामा भजनी–४ कुँडी गाउँमा दहित गोतियार दोस्रो सम्मेलन भव्यरुपले सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकार भूमि सुधार तथा पूर्व बन मन्त्री गोपाल दहितले विभिन्न समुदाय, जाति, वर्ग र क्षेत्रले आफ्नो पहिचान जोगाउन तथा समाजलाई संगठित बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले लामो संघर्ष र आन्दोलनपछि नेपालको संविधान २०७२ मा आदिवासी थारु समुदायको हक अधिकार सुनिश्चित भएको र त्यसपछि थारु समुदायले आफ्नो पहिचान मजबुत बनाउँदै आएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार दहित समाजको पहिलो भेला वि.सं. २०५० सालमा भएको थियो र त्यसयता विभिन्न जिल्ला स्तरमा भेलाहरू निरन्तर आयोजना हुँदै आएका छन्।
सम्मेलनको मुख्य उद्देश्यबारे जानकारी दिँदै उहाँले दहित समुदाय कहाँ–कहाँ छन्, उनीहरूको वर्तमान अवस्था कस्तो छ, समुदायभित्र रहेका थर तथा उपथरहरूको पहिचान गर्ने, गोत्र र गोतियार पहिचान गर्ने लगायतका विषयमा अनुसन्धान गर्ने उद्देश्य रहेको बताउनुभयो।
त्यसैगरी दहित संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएकाले त्यसको संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिइयो। दहित को हुन्, कहाँबाट आए, दहित नाम कसरी रह्यो? भन्ने ऐतिहासिक तथा सांस्कृतिक विषयमा अध्ययन गर्ने आवश्यकता औंल्याइयो।

प्रमुख अतिथि चौधरीले दहितको कुल देवताको पुजाआजा, श्राध, मर्नीकर्नीमा एकरुपता ल्याउन, आफ्नो पहिचान संरक्षण गर्न दहित समाजको विधान लिखित रुपमा तयार रहेको र चाँदै दर्ता प्रकृया अगाडी बढाउने समेत बताउनु भयो ।

कार्यक्रममा पछाडि परेका दहित समुदायका बालबालिकालाई अगाडि बढाउने, डाटा संकलन गर्ने तथा समाजमा दहित गुरुवा र केसौकाको आवश्यकता पहिचान गर्ने विषयमा समेत छलफल गरिएको थियो। साथै कुल देवता जस्तै सौरा, मैया, खेखरी, लागुबासु, भेरुवाबा, सुच्छाचारी, दुद्धाजारी आदिको पूजा किन गरिन्छ भन्ने विषयमा जानकारी आदानप्रदान गरिएको थियो।
सम्मेलनका क्रममा सहभागीहरूले दहित समुदायका विभिन्न थर, फरक–फरक देवता र पूजा विधिबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा सांस्कृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो।

उक्त सम्मेलनमा हजारौँको उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना गोत्र मिल्ने गोतियारसँग परिचित हुने अवसर पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए।
दहित समाज कैलाीलीका अध्यक्ष दल बहादुर दहितको सभापतित्वमा भएको सम्मेलनमा दहित समाजको केन्द्रिय उपाध्यक्ष भारती दहितको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा दहित समाजका केन्द्रिय सदस्य जगतराम दहित, हिरा दहित, दहित समाज कञ्चनपुरका अध्यक्ष विपिन दहित, भजनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जन्ताराम दहित, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बसन्ती दहित लगायतले मनतब्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन सुधराम दहित र चन्द्रा दहितले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *