
राजु चाैधरी(राज)/धनगढी/फागुन १६,
हामार चैनार समूहको आयोजनामा “चैनार होरि मिलन कार्यक्रम” धनगढीस्थित Basera Hotel मा भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व समूहका अध्यक्ष मुन्नालब कुस्मी ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा माधव थारु रहनुभएको थियो। विशेष अतिथिहरुमा जित त्रासन, भिम बिष्ट, हेमन्ता भट्टराई तथा उन्नति चौधरी लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन समूहकै सक्रिय सदस्य अनिल कुश्मी ले आकर्षक र व्यवस्थित ढंगले गर्नुभएको थियो। उहाँले होली पर्वको महत्व, यसको सांस्कृतिक पक्ष र सामाजिक सन्देशबारे प्रकाश पार्दै कार्यक्रमलाई रोचक बनाउनु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य गोबिन्द मुखिया ले राख्नुभएको थियो। मन्तव्यका क्रममा भिम बिष्ट, जित त्रासन, उन्नति चौधरी तथा प्रमुख अतिथि माधव थारुले होली पर्वले समाजमा प्रेम, सद्भाव, भाइचारा र एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा चर्चित गायक राजु चौधरी राज ले होली सम्बन्धी थारु गीत प्रस्तुत गर्दै सम्पूर्ण उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। उहाँको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए भने कार्यक्रम स्थल नै सांगीतिक माहोलले रंगिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान, रंग अबिर साटासाट तथा आपसी भेटघाटका कार्यक्रमहरु समेत सम्पन्न भएका थिए। सहभागीहरुले यस्तो कार्यक्रमले थारु कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
समग्रमा “चैनार होरि मिलन कार्यक्रम” आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणको सन्देश दिंदै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
