
जेठ २०,
कैलालीको जानकी गाउँपालिकालाई पूर्णखोप पालिका सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। राष्ट्रिय पुर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रकृया पुरा गरि पालिकालाई पूर्ण पालिका घोषणा गरिएको हो । “स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता” मूल नारा रहेको राष्ट्रिय पूर्ण खोप अभियानलाई सफल पार्न पालिकाले अहोरोत्र खटेको जानकी गा.पा. स्वास्थ्य शाखा सि.अ.हे.व. भरत बहादुर मल्लले बताउनु भयो ।

१५ महिना मुनिका ८ सय १० र १६ महिना देखि २३ महिनाका २ हजार ३ सय ७७ बालबालिकाहरुलाई वि.सि.जि., डि.पि.टी., हेपहिव, पोलियो, निमोनियाँ, दादुरा, इन्सेफ्लाईटिस, टाईफाईड, झाडापखाला विरुद्धको खोप लगाई पालिकालाई पूर्णखोप पालिका सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पनि बताउनु भयो ।

पालिका स्तरिय खोप समन्वय समिति अध्यक्ष एवं जानकी गा.पा. अध्यक्ष गणेश चौधरीको सभाध्यक्षता, जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख खगराज भुसालको प्रमुख आतिथ्यता, जानकी गा.पा. उपाध्यक्ष लालमति कठरिया, जिल्ला समन्वय अधिकारी विमल प्रसाद जोशी, प्रदेश स्वास्थ्य निर्देशिनालयका मिन राज जोशी, स्वास्थ्य कार्यालय कैलालीका सि.अ.हे.व. अधिकृत तेज विक्रम शाहीको विशिष्ट आतिथ्यतामा पालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायत उपस्थिति रहेको थियो । पालिका स्तरिय खोप समन्वय समिति जानकी गा.पा.को आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
