
कैलालीको जोशीपुरमा आई.पि.भि.अभियान सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । राष्ट्रिय खोप कार्यक्रमको सार्थकताका लागि जोशीपुर पालिका स्तरीय खोप समन्वय समितिलाई आई.पि.भि. खोप अभियान सम्बन्धी अभिमुखिकरण संचालन गरिएको हो । जेठ १३ गते देखि जेठ २६ गते सम्म संचालन हुने राष्ट्र व्यापी आई.पि.भि. खोप अभियान सफलता पूर्वक सम्पन्न गर्न अभिमुखिकरण गरिएको हो ।

जसको लक्ष्य २०७३ साल बैशाख महिना देखि २०७५साल आश्विन महिना सम्म जन्मिएका बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको आई.पि.भि. खोप लगाउने रहेको छ। २०७३–२०७५ मा जन्मिएका बालबालिकाहरु पोलियो विरुद्धको आई.पि.भि.खोप राष्ट्रको जुनसुकै स्वास्थ्य केन्द्रमा निशुल्क लगाईने छ ।

जोशीपुर गा.पा. क्षेत्र भित्रका बालबालिकाहरुलाई उनिहरुको विद्यालयमै खोप लगाईने छ। विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त भनि प्रमाणित भएको तथा नेपालमा प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृत भएकोले यो खोप सुरक्षित रहेको स्वास्थ्य शाखा जोशीपुरले जनाएको छ। उक्त अवधिमा आई.पि.भि. खोप लगाउन छुटेका बालबालिकाहरुमा पोलियो लाग्ने जोखिम रहने हुँदा बालबालिकालाई खोप दिन आवश्यक रहेका स्वास्थ्य शाखा जोशीपुरका प्रमुख नृप चौधरीले बताउनु भयो ।

गा.पा.अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको अभिमुखिकरणलाई सम्बोधन गर्दै शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले स्वास्थ्य र शिक्षा एक अर्काको परिपुरक रहेको बताए । उनले भने “स्वास्थ्य विना शिक्षाको कुनै औचित्य छैन ।”