
सुधराम दहित फाल्गुन १३,
कैलालीको जोशीपुरमा पछिल्लो ५ महिनामा १५ वटा सडक दुर्घटना भएको छ । कार्तिक महिनामा २, मंसिरमा १, पुसमा १, माघमा ५ र फाल्गुनमा ६ वटा गरि जम्मा १५ वटा सवारी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।
पछिल्लो समयमा सवारी दुर्घटना न्यूनिकरणका लागि ईलाका प्रहरी कार्यालय जोशीपुरले विभिन्न विद्यालय तथा समुदायमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरले विभिन्न ट्राफिक जनचेतना मुलक कार्यक्रम संचालन गरेपनि सडक दुर्घटनाको तथ्याङ्क वढि रहेकोमा ईलाका प्रहरी कार्यालय जोशीपुरका ईन्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक गणेश बहादुर थापा चिन्तित रहेको बताउनु भयो ।
“नयाँ सिकारुले सडकमा गाडी सिक्नु, जोशीपुर क्षेत्र भित्र सडकको अवस्था धेरै खराव छ । खाल्डाखुल्डी बढी छ । यस सडकमा ओभर स्पीडमा गाडी चलाउनु, साँझको समयमा मापसे सेवन गरि अनियन्त्रीत रुपले गाडी चलाउनु, विना लाईसेन्स् गाडी चलाउनु, हेल्मेन्ट नलगाई गाडी चलाउनु, ट्राफिक नियमको पालना नगरि गाडी चलाउनु आदि ईत्यादी कारणले दुर्घटना भईरहेको मेरो अनुभवले बताउँछ । ईलाका प्रहरी कार्यालय तथा ट्राफिक पुलिसले जरिवाना तथा नितिनियमको विषयमा जनचेतना मुलक कार्यक्रम गरेपनि चालकले त्यसलाई व्यवहारमा लागु नगरि नियमको बेवास्ता गर्ने हुनाले दुर्घटना वढी भईरहेको छ । दुर्घटना न्यूनिकरणका लागि प्रहरीको एकल प्रयासले केहि हुन सक्दैन । जव सम्म सवारी धनी तथा चालकले आफै संयमता अपनाई गाडी चलाउदैन तव सम्म दुर्घटना न्यूनिकरण गर्न गाह्रो हुन्छ । चालकले आफ्नो सुरक्षामा लापर्वाही गर्नु दुर्घटनाको मुख्य कारण हो ।” वहाँले भन्नु भयो ।
यस विषयमा ईलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी सँगै स्थानिय निकायको ध्यानाकर्षण हुन आवश्यक छ । सडकको स्तरोन्नती, वढि दुर्घटना हुने क्षेत्र तथा सडकको छेउमा होडिङ वोर्ड लगाउने, वढि खाल्डा खुल्डी भएको तथा टर्निङमा सांकेतिक चिन्ह राख्ने स्थानिय तहबाट पहल र प्रयास भयो भने दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने पनि वहाँले बताउनु भयो । सकेसम्म स्थानिय सरकारले वार्षिक कार्ययोजना अन्तरगत नै सुरक्षा सम्बन्धि योजना राखिदिएको भए थोरै बजेटबाट पनि गाउँ गाउँमा प्रभावकारी कार्यक्रम गर्न सकिने अझै राम्रो हुने पनि वहाँको कथन रहेको थियो ।
त्यसै गरि गाउँगाउँ–टोलटोलमा गई अभिभावकसँग ट्राफिक प्रहरी कार्यक्रम गर्ने, ट्याक्टर, टिपर, अटोको पछाडी रिफ्लेटिक स्टीकर टाँस्ने, स्कुल सम्पर्क कार्यक्रम, पर्चा पम्प्लेट वितरण, जनचेतना मुलक जिंगल बजाउने, चालकसँग सडकमै एक मिनेट कार्यक्रम गर्ने गरेको र यसैलाई सवै सरोकारवाला निकायबाट प्रभावकारी ढंगले कार्यन्वयन गर्नसके सवारी दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने अस्थाई प्रहरी पोष्ट जोशीपुरका प्रमुख प्रहरी वरिष्ठ हवल्दार खडक बहादुर ऐरले बताउनु भयो ।
