निसराउ सहकारी संस्था लि.को चुनावी साधारण सभा सम्पन्न/अध्यक्षमा सुरवली चौधरी

जोशीपुर, मंसिर २९,
कैलालीको जोशीपुरमा अवस्थित निसराउ बहुउद्देश्यीय सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरवली चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता र जोशीपुर बजार व्यवस्थापन समिति अध्यक्ष विश्वनाथ प्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको छ।

सहकारीले छोटो समयमा धेरै आम्दानी गरेको छ। गत आर्थिक वर्षमा सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफा २२ हजार ७ सय ७८ रुपैया ०५ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७८÷०७९ को सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफा ५ लाख ८१ हजार ३ सय ११ रुपैया १२ पैसा रहेको छ।
स्थानिय व्यापारीहरु फाउण्डर रहेको सहकारीमा साना व्यापारीहरु पनि यस सहकारीमा शेयर लिने देखिएको छ । वि.सं. २०७६ सालमा स्थापना भएको बहुउद्देश्यीय सहकारीमा अहिले सम्म २ सय ७९ शेयर सदस्य रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चित्र बहादुर चौधरीले सहकारीले छोटो समयमा राम्रो प्रगति गरेको बताउँदै यस सहकारीको लागि स्थानिय सरकारबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
त्यस्तै विशिष्ट अतिथि विश्वनाथ प्रसाद चौधरीले यस सहकारीले साना देखी ठुला व्यापारीलाई व्यवसाय सञ्चालन गर्नमा थप सहयोग गरेको बताउनु भयो । वहाँले संस्थालाई जोशीपुरमा मात्र नभई सेवा विस्तारमा पनि सहकारीले जोडदिनु पर्ने पनि बताउनु भयो । त्यस्तै संस्थापक अध्यक्ष ठग्गुराम चौधरीले बजार तथा गाउँमा सुरक्षाको आभास कम भएको बताउँदै ईलाका प्रहरी कार्यालय जोशीपुरलाई थप सुरक्षाको माग समेत गर्नु भयो ।

औपचारिक उद्घाटन सत्र समापन पश्चात संस्थाको चुनावी साधारण सभा भएको थियो । निसराउ बहुउद्देश्यीय सहकारी संस्था लि.को चुनावी साधारण सभाबाट अध्यक्ष पदमा सुरवली चौधरी निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा पुरुषोत्तम चौधरी, कोषाध्यक्षमा लक्ष्मीनारायण कठरिया, सचिवमा प्रशुराम चौधरी, सदस्यमा नन्दकिशोर महतों, राज कुमार चौधरी, रामशरण चौधरी र शुशिल चौधरी रहेका छन् । त्यस्तै लेखा समितिमा संयोजक ठग्गु प्रसाद चौधरी र सदस्यमा बसन्तलाल डंगौरा थारु, साबुतराम कठरिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *