
कार्तिक २३,
कैलालीको जोशीपुरमा जोशीपुर जेसीजले जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ । प्रत्येक वर्ष गरिने जेसीज सप्ताह यस वर्ष २०२२ को सप्ताह कार्यक्रमको समुद्घाटन संगै बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। जेसीज अध्यक्ष सुधराम दहितको सभाध्यक्षता, उपाध्यक्ष चेतराज जोशीको संयोजकत्व, वर्ष २०१८ का अध्यक्ष शेखर श्रीपाईलीको प्रमुख आतिथ्यता तथा वर्ष २०२० का अध्यक्ष विष्णु प्रसाद डंगौरा र जोशीपुर बजार व्यवस्थापन समिति सचिव कविता विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जोशीपुर जेसीजको आयोजनामा जोशीपुर बजारमा वृहत सरसफाई कार्यक्रम भएको हो । जोशीपुर गाउँपालिकाको विशेष सहयोग, ईलाका प्रहरी कार्यालय जोशीपुर, मोहन्याल माध्यमिक विद्यालय बडहरिया जोशीपुरका शिक्षक एवं विद्यार्थीहरु, कैलाली दिपज्योती ई.बो.स्कुल जोशीपुरका शिक्षक एवं विद्यार्थीहरु, बाल कल्याण संघका प्रतिनिधि लगायत व्यापारी, समाजसेवी, बुद्धीजीवी, शिक्षाप्रेमीहरुको सक्रिय सहयोगमा सप्ताहको पहिलो दिन बृहत सरसफाई कार्यक्रम भएको हो ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै जेसीजले गरेको सरसफाई स्वास्थ्य सँग प्रत्येक्ष सम्बन्ध रहेकोले यस जोशीपुर बजारका व्यापारीहरुले आफ्नो पसलको वरपर फोहर नफाली गाउँपालिकाले व्यवस्था गरेको फोहर कन्टेनरमा फोहर व्यवस्थापन गरि बजारलाई स्वच्छ र सफा राख्न सवैलाई प्रमुख अतिथि शेखर श्रीपाईलीले अनुरोध गर्नु भयो । त्यस्तै स्थापनाकाल देखि जोशीपुर जेसीजले यस जोशीपुर क्षेत्रमा गरेका विभिन्न चेतना मूलक कार्यक्रमले समाजमा सकारात्मक भूमिका खेलिरहेको विशिष्ट अतिथि विष्णु प्रसाद डंगौराले बताउनु भयो ।

सप्ताह व्यापि कार्यक्रम अन्तरगत जाशीपुर जेसीजले लागु पदार्थ दुव्र्यसनी न्यूनिकरण, आत्महत्या न्यूनिकरण, बाल दुब्र्यवहार सचेताना र सडक दुर्घटना न्यूनिकरण कार्यक्रम गर्ने भएको छ । औपचारिक कार्यक्रमलाई महासचिव भिम बहादुर विनाडीले शहजीकरण गर्नु भएको थियो ।
