
भाद्र २१,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ बन्जरिया स्थित श्री शंकर सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दान बहादुर चौधरीको सभाध्यक्षता तथा सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम डंगौराको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सामाजिक दायित्व तर्फ संस्थाले विद्यालयको शैक्षिक गुणस्तरका लागि श्री मोहन्याल माध्यमिक विद्यालयलाई १ लाख र श्री जनजागृति आधारभुत विद्यालयलाई २० हजार बराबरको सामग्री प्रदान गरेको छ । त्यस्तै आफ्नो क्षेत्र भित्रका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र प्रत्यके गाउँलाई २/२ थान प्लास्टिक कुर्सी समेत वितरण गरेको छ।

त्यस्तै सामाजिक दायित्व तर्फ रसुवागढीको वाढिपिडितहरुको लागि नेपाल सरकारले संचालन गरेको दैविक प्रकोप राहत कोषलाई ११ हजार १ सय ११ रुपैया दिने निर्णय गरेको छ ।

संस्थाले समयमै वार्षिक साधारण सभा सम्पन्न गरेकोमा अन्य सामुदायिक वनका अध्यक्ष तथा सव डिभिजन वन कार्यालयका प्रकाश महरले शुभकामना समेत व्यक्त गरेका थिए ।
संस्थाका प्रशासनिक सचिव हिरा चौधरीले आ.व. २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वहाँले प्रस्तुत गरेको २४ लाख २२ हजार ६ सय ८८ रुपैया बराबरको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित भएको छ।

संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समूह जोशीपुर ३ भितरियाका अध्यक्ष राहुल बुढाले स्थानिय सरकारले वनपैदावरको १० प्रतिशत रकमको ताकेता गरेकोमा आपत्ति जनाउन भयो । संस्थाले गा.पा. कोष खर्चमा २१ हजार २ सय ३० रुपैया खर्च देखाएको छ । जोशीपुर पालिकाले सवै वन समुदायसँग १० प्रतिशतको दरले रकम लिएको छ कि यस शंकर सामुदायिक वन उपभोक्ता समूहसँग मात्र लिएको हो । यस विषयमा वहाँले आफ्नो जिज्ञासा राख्नु भएको थियो । सामुदायिक वनले स्थायी लेखा नम्बर लिए पश्चात कारोबारको हिसावले आन्तरकि राजश्व कार्यालयमा कर तिरिरहेको र वन कार्यालयको निर्देशन अनुसार प्रदेश संचित कोषमा १० प्रतिशतले तिरिरहेको र त्यसमाथि अव फेरी स्थानिय सरकारलाई पनि १० प्रतिशत तिर्ने भार सामुदायिक वनलाई परेकोमा सामुदायिक वन घोर आपत्ति जनाएको समेत वहाँले बताउनु भयो ।
