३ दिने आधारभूत प्राथमिक उपचार तालिम तथा रक्तदाता अभिमुखीकरण सम्पन्न

जोशीपुर, जेठ २४ —
जोशीपुर गाउँपालिका वडा नं. ४ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सञ्चालन भएको तीन दिने आधारभूत प्राथमिक उपचार तालिम तथा रक्तदाता अभिमुखीकरण कार्यक्रम श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियामा सम्पन्न भएको छ।
जेठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा जोशीपुर गाउँपालिका अन्तर्गत रहेका १९ वटा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिममा प्राथमिक उपचारका आधारभूत सीप, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी, घाइते तथा बिरामीको प्रारम्भिक उपचार विधि, रक्तदानको महत्व तथा रक्तदाताको भूमिकाका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाअध्यक्ष राम जनम चौधरीले विद्यालयस्तरमै प्राथमिक उपचार सम्बन्धी ज्ञान र सीपको विकास हुनु आवश्यक रहेको बताउँदै यस्ता तालिमले विद्यार्थी तथा समुदायमा आपतकालीन अवस्थामा जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रक्तदानलाई मानवताको उत्कृष्ट कार्यको रूपमा वर्णन गर्दै रक्तदान सम्बन्धी जनचेतना विस्तार गर्न प्रशिक्षण लिनुभएका सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
तालिम समापनका अवसरमा सहभागी प्रत्येक विद्यालयलाई नेपाल रेडक्रस सोसाइटीको तर्फबाट फष्ट एड किट बक्स उपलब्ध गराइने कार्यक्रमका विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला सभापति लोकराज जोशीले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । यसले विद्यालयहरूमा आकस्मिक स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको समेत वहाँ बताउनु भयो ।


त्यसै गरि सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीप विद्यालय र समुदायस्तरसम्म विस्तार गर्नु पर्ने, प्राथमिक उपचार तालिमको उद्देश्यलाई समुदाय स्तर सम्म पु¥याउनु पर्ने र आगामि दिनमा तालिमको समयावधी वढाउनु पर्ने कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय माध्यमिक विद्यालयका प्राध्यापक लिलाराम ओलीले बक्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका सभापति नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाका अध्यक्ष विक्रम चौधरीले रेडक्रस सोसाइटी उपशाखा जोशीपुरका लागि बजेट विनियोजित गरिदिएकोमा ४ नं. वडाको कार्यालय तथा प्रशिक्षण तालिममा शहजीकरण गर्ने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । वहाँले जोशीपुरमा रेडक्रसको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *