
माघ २२,
कैलालीको भजनीमा राष्ट्रपति रनिङ्ग सिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ। भजनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगितालाई संघिय सांसद माननिय गंगाराम चौधरीले समुद्घाटन गर्नु भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नारा रहेको खेलकुद प्रतियोगिता माघ २२ गते देखि २७ गते सम्म महुन्याल मा.वि.को प्राङ्गणमा हुनेछ ।

भजनी नगरप्रमुख केवल चौधरीको सभाध्यक्षतामा समुद्घाटन भएको खेलकुदलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद गंगाराम चौधरीले कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ। महुन्याल मा.वि.को विद्यार्थी आफु पनि भएको र आज संघिय सांसद भएर यहि विद्यालयमा भई रहेको राष्ट्रपति रनिङ सिल्ड खेलकुद समुद्घाटन गर्न पाउँदा गौरवान्वीत भएको बताउनु भएको छ। वहाँले यस क्षेत्रको विकासका लागि शिक्षाको विकास हुन जरुरी रहेको भन्दै शिक्षाको नितिगत विकास गर्न स्थानिय सरकारले निति सूधार गर्न आवश्यक रहेको बताए । उनले भने “गत वर्ष भजनी नगरपालिकाका विद्यालयहरुको एसईई परिक्षाको नतिजा हेर्दा दुःख लागेको छ । भजनीको शैक्षिक नतिजाले चर्चा परिचर्चा पाएको थियो । यसले हामीलाई लज्जीत बनाएको छ। त्यसकारण अव एसईई परिक्षामा जिरो नतिजा ल्याउने विद्यालयलाई नगरपालिकाबाट दिईने सेवा सुविधाबाट बञ्चित गराउनु पर्छ र राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्नू पर्छ ।”

माननिय चौधरीले मार्च पासमा एक जना विद्यार्थी कालिका आधारभूत विद्यालयको विद्यार्थीले लगाएको पोसाक देखेर दुखी बनाएको भन्दै विज्ञान जैसीलाई एक जोर स्कुल पोसाक उपलब्ध गराउनु भएको थियो ।
त्यसै गरि विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद आवश्यक रहेको कार्यक्रमका सभापति केवल चौधरीले बताउनु भयो । शिक्षकले विद्यार्थीको पढाईलाई मात्र नभएर अतिरिक्त कृयाकलापमा पनि ध्यानदिन पर्ने पनि वहाँले बताउनु भयो ।

कार्यक्रममा भजनी नगरपालिका अन्तरगतका ५४ वटा विद्यालयका विद्यार्थीहरुले माननिय संघिय सांसद गंगाराम चौधरीलाई सलामी दिएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने,राजनीति दलका राज बुढा र सुनिल कठरिया लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
