जोशीपुरको एक वडाध्यक्षले कर्मचारीहरुलाई हाजिर लगाउन नदिएपछि….. !

सावन ३,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा कर्मचारीहरुलाई वडा अध्यक्ष रामजनम चौधरीले हाजिर लगाउन नदिए पछि वडाका कर्मचारीहरुले गाउँपालिकामा हाजिर लगाएका छन् । गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले आफ्नो अधिकार हनन् गरि एकाधिकार जमाएको भन्दै वडा पालिका मात्र नभई वडा नं. ४ कै आधारभुत स्वास्थ्य ईकाईका कर्मचारीहरुलाई समेत उनले आफ्नो कार्यालयमा हाजिर लगाउन दिएनन् । वडामा ४४ लाख मात्र सिलिङ बजेट आएको र वडा नं. ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दा वडासँग कुनै समन्वय नगरे पछि उनले वडाका कर्मचारीहरुलाई वडामा हाजिर लगाउन नदिई हाजिर लगाउन गाउँपालिका पठाएको उनले बताएकाछन् । जोशीपुर गाउँपालिकाको भौतिक विकासका संयोजक भए पनि भौतिक विकास अन्तरगतका विकासका योजनाहरु समेत गाउँपालिकाले आफ्नो मातहतमा लिई एकलौटी रुपमा कार्यसम्पादन गरिरहेको उनको गुनासो छ । जोशीपुरको विकासका लागि जनता मुखी योजना नभई कर्मचारी मुखी योजना बनाई रहेको उनले बताए । उनले भने “सवै काम गाउँपालिकामै हुने भए वडापालिका किन चाहियो ? वडाध्यक्ष किन चाहियो ? वडाको सिफारिस पनि गाउँपालिकाले दिनु पर्छ ।”
यस विषयमा गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीसँग कुरा गर्दा वहाँले भन्नु भयो “वडाबासीहरुको समस्या हेर्ने जिम्मा वडाको हो । वडाबासीहरुलाई स्वास्थ्य चाहियो कि चाहिएन ? सिफारिस चाहियो कि चाहिएन ? यस विषयमा वडाअध्यक्ष नै जिम्मेवार हुनु पर्दछ । वडाका कर्मचारी तथा प्राथमिक स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरुलाई किन हाजिरी लगाउन दिइएन वडा अध्यक्षलाई सोधनुस् । रह्यो कुरा भौतिक विकासको । वहाँ संयोजक हुनुहन्थ्यो वहाँले मेरो अधिकार क्षेत्र भित्र दायाँवाँया, उल्टा–सुल्टा गरेपछि मैले वहाँको भौतिक विकास संयोजकको पद खोसेको हुँ । सवै वडामेरो लागि बराबर हो । एउटै वडामा बजेट हाल्न त सकिदैन । ४ नं. वडाको बजेट ४४ लाख भए पनि सम्पुरक बजेट १ करोड रहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *