
कैलालीको जोशीपुर गाउँपालिकाले शनिवार १० औं गाउँसभाको निति तथा कार्यक्रम सम्पन्न गरेको छ। जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले पालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । पालिकाले अन्तरगत शिक्षा, युवा तथा खेलकुदमा स्थानिय पाठ्यक्रमको निर्माण गरिने, साथै शिक्षकको क्षमता विकास गर्न आवश्यक कार्यक्रम ल्याईने, सामुदायिक आधारभुत विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निति लिईने, पालिका भित्र न्यून विद्यार्थी संख्या रहेका विद्यालयलाई पायक पर्ने ठाउँमा समायोजनको व्यवस्था गरिने, नि.मा.वि. र मा.वि. विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको निति ल्याईने, संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुबाट लिईने शुल्कमा एकरुपता ल्याईने, खेलकुद विकास गर्न विभिन्न खेलहरुको लागि पालिका स्तरीय कभर्ड हल सहित खेलकुद मैदान लगायतका पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाईने, गाउँपालिका भित्र रहेका सामुदायिक स्कुलमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई स्थानिय भेषभुषा लगाई पठनपाठनको व्यवस्था मिलाईने तथा गाउँपालिकालाई सुरक्षा कायम गर्नलाई गाउँप्रहरी भर्ना गरिने प्रकृया अगाडी बढाईने निति ल्याएको छ।
त्यसै गरि पर्यटन विकासका लागि मुख्य चोकहरुमा सौर्य सोलार बत्ती जडान गरिने, गाउँपालिका पर्यटकीय गन्तव्यको लागि आकर्षक स्थानहरु पहिचान गरि प्रचार प्रसार गरिने, गाउँपालिकाका विभिन्न जातजाती तथा समुदायहरुको संस्कृति, पर्व, भाषा तथा परम्पराहरुको संरक्षण गरिने, थारु समुदायको मौलिक भेषभुषा तथा खानपान झल्काउने होमस्टे घरको छनौट गरिने तथा प्रत्येक वडाहरुमा एक पार्क निर्माण अभियान सन्चालन गरिने स्थानिय पालिकाले निति ल्याएको छ ।