बाँणी कुलो जल उपभोक्ता संस्थाको लापर्वाहीले सिचाईमा समस्या

जेठ ६,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा अवस्थित बाँणी कुलो जल उपभोक्ता संस्थाको लापर्वाहीले १८ गाउँका किसानहरु सिचाईको समस्यामा परेका छन् । वि.सं. २०५६ सालमा स्थापित यस संस्थाले किसानको समस्या बुझ्न नसकेको स्थानिय जल उपभोक्ताहरुको भनाई छ । खेत रोपाईको समयमा कुलोमा पानी नहुनु, वर्षामा पानीको निकास नहुनु, कुलो मासिदै जानु जस्ता थुप्रै समस्या भए पनि बाँणी कुलो जलउपभोक्ता संस्थाले चाँसो नदेखाएको उपभोक्ताहरुको भनाई छ ।

वार्षिक रुपमा उपभोक्ताहरुले कुलोको नान्ह अनुसार पानी पोत तिर्दै आएको र जल उपभोक्ता संस्थाले कुनै वार्षिक योजना नै नबनाई अध्यक्षले मनोमानि रुपले खर्च गर्दै आएको गुनासो पनि उनिहरुले गरे । आज सम्म कुनै योजनाको सार्वजनिक सुनुवाई, वार्षिक प्रतिवेन, लेखा तथा आर्थिक प्रतिवेदन सार्जजनिक नभएको र निकासा गर्दा समितिका सदस्यहरुको नामलेखि किर्ते हस्ताक्षरले पैसा निकाली हिनामिना गरेको समेत भलमन्सा तथा समाजसेवी वुद्धिजिवीहरुको भनाई छ। ततकालिन तदर्थ समितिका अध्यक्ष डम्मर परियार रहेका थिए।

१८ गाउँका किसानहरुलाई यस्तो समस्या परेपछि आमभेलाबाट बाँणी कुलो जल उपभोक्ता संस्थाले वि.सं. २०८० बैशाख १५ गते नयाँ तदर्थ कार्य समिति चयन गरेको थियो । सवै गाउँका भलमन्सा, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति नरहेकोले सो दिन समितिले पूर्णता पाएको थिएन । ततपश्चात जेठ ६ गते शनिवार सवै गाउँका भलमन्सा, समाजसेवी, बुद्धिजिवी, कृषकहरुलाई भेला गराई तदर्थ समितिलाई पुर्णता दिइएको छ। जस अन्तरगत अध्यक्षमा विधिराम चौधरी, उपाध्यक्षमा भैरव सिंह चौधरी, कोषाध्यक्षमा कृष्णा चौधरी, सहसचिवमा प्रेम सागर चौधरी चयन भएका छन् भने सदस्यमा १८ वटै गाउँका एक–एक जना रहेका छन् ।

विधिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी र विशिष्ट अतिथिमा पूर्व शिक्षक रामफल चौधरी रहेका थिए । जोशीपुरको अधिकांस क्षेत्र कृषि योग्य छ। यहाँका जनता कृषि पेशामा आवद्ध छन् । यस क्षेत्रमा उत्पादन हुने कृषि उपजले यहाँका कृषकहरुको दिन गुजारा चलिरहेको छ। जनसंख्या वढ्दैछ तर उत्पादन भने घट्दै छ। त्यसकारण यस क्षेत्रको उत्पादन बढाउन सिचाई आवश्यक छ। सिचाईको व्यवस्थापन आवश्यक छ । यहाँका किसानहरुको मुख्य आयस्रोत कृषि नै रहेकोले कृषिलाई नै आधुनिकरण गरि व्यावसाय मुखि बनाउन आवश्यक छ भन्ने भनाई अध्यक्ष विधिराम चौधरीको रहेको थियो ।

त्यसै गरि संस्थालाई व्यवस्थीत गर्न, यस क्षेत्रका कृषकहरुलाई व्यावसायमुखि बनाउन, उत्पादन बढाई कृषकलाई प्रोत्साहन दिन संस्थाको आवश्यकता रहेको प्रमुख अतिथि चित्र बहादुर चौधरीको भनाई रहेको थियो । यस वाँणी कुलो जल उपभोक्ता संस्थाले १८ गाउँका कृषकहरुको परिवारलाई जीवन दिएको छ। यसका लागि जोगाई राख्न आवश्यक छ । यसका लागि स्थानिय तहबाट हुन सक्ने सहयोग गर्ने र कार्यालय व्यवस्थापनका लागि पनि पहल गर्ने प्रमुख अतिथिले बताउनु भयो । कार्यक्रम जोशीपुर ४ वाँणी बाबा शिव मन्दिर धामको प्राङ्गणमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *