कैलारीमा १५ शैयाको अस्पताल समुद्घाटन

सावन २०/राजु चौधरी (राज)
धनगढी, २० साउन । कैलालीको कैलारी गाउँपालिकास्थित बैजपुरमा रहेको १५ शैयाको कैलारी आधारभूत अस्पतालको समुद्घाटन गरिएको छ ।
संघीय सरकारको लगानीमा निर्माण गरिएको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमका बिच समुद्घाटनज गर्नु भएको हो । हरेक पालिकामा कम्तीमा १५ शैय्याको अस्पताल स्थापना हुनु पर्ने नेपाल सरकारको नीति अनुरुप कैलारी आधारभूत अस्पतालको भवन निर्माण गरिएको थियो । तर, बजेट अभावका कारण सञ्चालनमा आउन सकेको थिएन ।
एक जना मेडिकल अफिसरसहित पालिकामै कार्यरत जनशक्ति व्यवस्थापन गरेर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालबाट फार्मेसी, आकस्मिक, ओपिडी, एक्सरे लगायतका सेवा सञ्चालनमा आएको पालिकाको स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताउनु भयो ।

सुविधायुक्त भवनमा निकट भविष्यमा विभिन्न सेवाहरु थप्दै जाने जनाइएको छ । संघीय सरकारको १८ करोड ५२ लाख रुपैयाँ लगानीमा अस्पताल भवन निर्माण गरिएको हो ।
अस्पताल निर्माणका लागि रोयल कन्स्ट्रक्सन जेभीसंग २०७९ असार २९ मा ठेक्का सम्झौता भएको थियो । बैजपुर गाउँवासीले तत्कालीन सर्वोदय प्राथमिक विद्यालय रहेको १२ कट्ठा जग्गा उपलब्ध गराएपछि अस्पताल भवन निर्माण गरिएको थियो । अस्पताल स्थापनाले सो क्षेत्रका बासिन्दालाई स्वास्थ्योपचारमा सहयोग पुग्ने स्थानियबासीको आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *