
पुष १०,
कैलालीको जोशीपुरमा शैक्षिक गुणस्तरका लागि ३ दिने प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धी उत्प्रेरणा कार्यक्रम गरिएको छ। पुष ८ गते सोमबार देखि १० गते बुधवार सम्म भएको उत्प्रेरणा कार्यक्रममा जोशीपुर पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति लगायत विद्यार्थीहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण दिइएको थियो ।

नेपालकै नमुना विद्यालयको रुपमा परिचित कालिका मानव ज्ञान नमुना मा.वि.बुटवलका उत्कृष्ट खेलकुद प्रशिक्षक हरिष ओली, संगीत शिक्षक ईन्द्र विश्वकर्मा र बुटवल कालिका क्याम्पस प्रमुख तथा वौद्धिक व्यक्तित्व घनश्याम पाठकद्धारा प्रशिक्षण दिइएको थियो ।
विशिष्ट व्यक्तित्वहरुले दिएको प्रशिक्षण प्रभावकारी र उत्प्रेरणामूलक रहेको शिक्षक, व्यवस्थापन समिति, शि.अ.संघका अध्यक्ष एवं प्रतिनिधिहरुको भनाईरेको छ ।
३ दिनको तालिमले राम्रो नतिजा दियो भने जोशीपुरको रघुनाथ आदर्श मा.वि.लाई पहिलो प्राथमिकता दिने र राष्ट्रिय मा.वि. लकडमण्डी, सरस्वती मा.वि.फाडिया र राष्ट्रिय मा.वि. लोखरीलाई पनि तालिमको माध्यमबाट विद्यालय सुधार्ने प्रयास गर्ने समापन कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले ३ दिनको कार्यक्रमले सकारात्मक सोच, व्यवहार र संस्कारको विकास गरेको यसले सकारात्मक गतिशिलता प्रदान गर्ने बताउनु भयो । “भविष्यका कर्णधार मानिने विद्यार्थीहरुमा परिवर्तन ल्याउन सक्यौं भने परिवार, विद्यालय, समाज, र राष्ट्र परिवर्तन गर्न सकिन्छ ।” वहाँले भन्नु भयो ।

विद्यार्थीहरुमा संस्कार र सभ्यताको विकास गर्न सक्यौं भने विद्यालय आफै सुध्रिन्छ । विद्यालय राम्रो बनाउनु छ भने पहिले विद्यार्थीहरुको आमाबुवा अर्थात अभिभावकहरुले नियमित विद्यालयको अनुगमन गर्ने, आफ्नो बालबालिकाहरु विद्यालय गरिरहेको कृयाकलापमा निगरानी राख्न जरुरी छ। भन्ने भनाई बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठकले राख्नु भएको थियो । “घरमा सवै कुरा छ तर विद्यार्थीहरु विद्यालयबाट घर गईसकेपछि घरमा झोला राख्न्ने ठाउँ छ कि छैन ? पढ्नका लागि टेवल छ कि छैन ? यस गाउँपालिका भित्र विद्यार्थीहरुलाई शिक्षक र अभिभावकहरुले तँ र तिमि भन्ने शब्दको प्रयोग नगरि तपाई या हजुरको प्रयोग गर्नु पर्छ तव मात्र विद्यार्थीहरुका संस्कारको विकास हुन्छ।” वहाँले भन्नु भयो ।

त्यसै गरि कार्यक्रमका सभापति एवं शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीले जोशीपुरका लागि यो कार्यक्रम ऐतिहासिक एवं उपलब्धीमूलक रहेको बताउनु भयो । कार्यक्रमले आफुलाई उत्साहित र उत्प्रेरित भएको बताउँदै यस तालिमले प्रत्येक विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई रोल मोडल बनाउन सक्ने बताउनु भयो । यस्तो किसिमको महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा जोशीपुर गाउँपालिका धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण दिनुृहुने हरिष ओली, ईन्द्र विश्वकमा र घनश्याम पाठकलाई समेत धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा ३ दिन सम्म आफ्नो अमुल्य समय दिएको भन्दै पालिकाले प्रशिक्षकहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।
