
असार ६,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा भित्र हरेका छिमेकी विद्यालयसँग अन्तरकृया गरेको छ । विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन छिमेकी विद्यालयहरुको शिक्षण सिकाई, पठनपाठन गर्ने विधि, विद्यार्थीहरुलाई विद्यालयमा नियमित उपस्थित गराउने अभ्यास तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, अभिभावकहरुको मनोविचार तथा अनुभव आपसमा साँटासाट गरि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ कि भन्ने उद्देश्यले जोशीपुरमा पहिलो पटक श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाले आयोजना गरेको हो । “हामी बनाउँछौं हाम्रो विद्यालय” मुल नारा रहेको कार्यक्रम वि.व्य.स. अध्यक्ष विष्णु प्रसाद डंगौराको सभापतित्व, ४ नं. वडा अध्यक्ष रामजनम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जसमा श्री सन्तजन आधारभुत विद्यालय लालपुरवाँणी र रा.मा.वि. डहरवेरियाका वि.व्य.स.अध्यक्ष, प्राधानाध्यापक, शि.अ.संघ अध्यक्ष, शिक्षक–शिक्षिकाहरु विच अन्तरकृया भएको थियो। कार्यक्रममा प्रत्येक शिक्षकहरुले आफ्नो पढाउने शैली, कक्षामा गरिने कृयाकलाप, शिक्षण सिकाईमा आउने समस्या र चुनौतीको विषय प्रस्तुत गरेका थिए ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिति नहुनाले एक पाठ दुई तिन पटक दोहो¥याएर पढाए पनि नियमित उपस्थित हुने विद्यार्थी बोर हुने र पछि आउने विद्यार्थीले नबुझ्ने मुख्य समस्या देखिएको छ । विद्यार्थीलाई फेल गराउन नमिल्ने सरकारको नितिले झन विद्यार्थीहरु पढाईमा चाँसो नदिएको शिक्षकहरुको भनाई रहेको थियो । उद्धार कक्षा नितिले कक्षा एकमा सिक्ने पढ्ने विषय वस्तु नै नबुझी कक्षा दुईमा जाने, कक्षा दुईमा दिईने शिक्षा नलिई कक्षा ३ मा भर्ना हुन पाउने सरकारको नितिले गर्दा कक्षा वृद्धि भएपनि विद्यार्थीहरुलाई किताव पढ्न समेत नआउने समस्याले पछि विद्यार्थीहरुमा नैरस्यता उत्पन्न भई विद्यालय छोड्नेको संख्या वढिरहेको पनि शिक्षकहरुले बताए । विशेष गरि जसका अभिभावकहरु घरमा छैनन् उनिहरुलाई विद्यालयको वातावरणमा नियमित उपस्थित गराउन नसकेकोले शिक्षण सिकाईमा प्रभाव परेको छ भन्ने सन्तजन आधारभुत विद्यलायका शिक्षिका शिरा चौधरीले बताउनु भयो ।

छिमेकी विद्यालयबाट पनि आफ्नो विद्यालयमा विद्यार्थी भर्ना हुन आउने भएकोले छिमेकी विद्यालयमा समेत गुणस्तर शिक्षण सिकाईका लागि अन्तरकृया महत्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक लिलाराम ओलीले बताउनु भयो । “गुणस्तर शिक्षा दिनका लागि दक्ष शिक्षक, क्षमतावान वि.व्य.स. र जिम्मेवार अभिवावक हुन जरुरी छ । शैक्षिक पाठ्यक्रम परिवर्तन भईरहेको हुन्छ । सोही अनुसार शिक्षक अपडेट हुन जरुरी छ । विद्यालयमा नियमित विद्यार्थी उपस्थित गराउन कसरी आकर्षण बढाउन सकिन्छ । यस विषयमा शिक्षक, वि.व्य.स., शि.अ.संघ सवै गम्भीर हुन जरुरी छ र अभिभावकहरुले पनि आफ्नो दायित्व पुरा गर्नु पर्छ ।” भन्ने अभिव्यक्ती समेत वहाँले व्यक्त गर्नु भएको थियो ।

त्यसै गरि लक्ष्य विद्यार्थीको होईन शिक्षक पुरा भयो भने त्यहाँ गुणस्तरीय शिक्षा देखिन्छ भन्ने प्रमुख अतिथि रामजनम चौधरीको भनाई रहेको थियो । भने सुशासनको पालना गरि शिक्षण पेशालाई मर्यादीत बनाउन हरेक शिक्षकले आफ्नो जिम्मेवारीलाई सहि ढंगले पुरा गर्नु पर्छ र शिक्षामा गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, वि.व्य.स.लाई शैक्षिक भ्रमण गराउन आवश्यक रहेको वि.व्य.स. अध्यक्ष तथा कार्यक्रमका सभापति विष्णु प्रसाद डंगौराले बताउनु भयो ।