
कार्तिक ४, कैलालीको जोशीपुरमा दशैं मिलन एवम् शुभकामना आदान–प्रदान कार्यक्रम २०८० सम्पन्न भएको छ । जोशीपुर भलमन्सा समाजको आयोजनामा सम्पन्न भएको कार्यक्रमलाई प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननिय कैलाश चौधरीले सम्बोधन गर्नु भएको थियो । वडा दशैं, दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै वहाँले ईजरायल हमासको घटनामा ज्यान गुमाएकाहरु प्रति सममेवदना एवं श्रद्धाञ्जली समेत व्यक्त गर्नु भयो । दशैंले केहि क्षेणका लागि खुशी ल्याए पनि हरेक नेपालीलाई यो घटनाले मर्माहित बनाएको उनले बताए । “थारु समुदायमा भलमन्सा, गुरुवा, वैद्यावा र सोर्हिन्याको उच्च योगदान छ । यिनिहरुलाई कानुनी बैधानिकता दिन संसदमा बहस चलिरहेको छ । यस विषयमा गम्भीर छौं” वहाँले भन्नु भयो । आफु यस क्षेत्रबाट गएकोले यस क्षेत्रको समग्र विकासका लागि दलिए भावना नभै एक मत एक विचार हुन आवश्यक रहेको पनि उनले बताए ।

कार्यक्रम भलमन्सा संयोजक शक्ताराम चौधरीको सभाध्यक्षता, जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा साँस्कृतिक झाँकी मंग्रहुवा नाच, कठरिया होरी नाच, हुर्डुङ्गवा नाचको प्रस्तुती रहेको थियो । थारु संस्कृति झल्काउने गुरुवा, बैद्यावा, सोर्हिन्या र भलमन्सा सहितको मुंग्रहुवा नाच जोशीपुर बजार चोकमा प्रस्तुत गरिएको थियो ।