
असोज २२,
भरखरै कृषि ओ.जि.टीका लागि ईज्रायल गएका जोशीपुर गाउँपालिका ५ मैनपोखरीका आशिष चौधरीको हमासको आक्रमणमा परि मृत्यु भएको छ। उनि कृष्ण जन्माष्टमीका दिन ईजरायल जानका लागि घरबाट विदा लिएका थिए । अहिले न उनका आमा बुवा घर पुगेका छन् न त आशिषको शव नै पुगेको छ। घरमा ताला झुण्डीको छ। आर्थिक संकटको समयमा घर जग्गा धितो राखी आशिष चौधरीलाई अध्ययनका लागि ईजरायल पठाएको उनका मामा विनोद चौधरीले बताए । आशिषलाई ईजरायल पठाउन भन्दा ३ महिना पहिले नै उनका वुवा आमा भारत कमाउन गएका हुन् । टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययन आशिष पढाईमा जेहेन्दार भएकोले ईजरायल जाने अवसर प्राप्त गरेको पनि चौधरीले बताए । त्यस्तै आशिषका माउली बाजे कन्हैलाल चौधरीले आशिष उड्नेबेलामा मेरो चिन्ता नलिनुहोला “म अध्ययन पश्चात फर्केर आफ्नै गाउँमा व्यवस्थीत कृषि फर्म खोली व्यवरायीक कृषि गर्ने छु ।” भनेका थिए ।

सहानुभुतिका लागि कैलाली सहायक–प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लगायत प्रहरी उप–निरिक्षक, सशस्त्र प्रहरी उपनिरिक्षक, राष्ट्रिय अनुसन्धान आयोग उप–निर्देशक सहितको टोली साँझ करिव ४ः३० बजे आशिष चौधरीको घर पुगेका थिए । “सरकार अहिले उद्दरको पहलमा छ । छिटोछिटो शव नेपाल ल्याउने प्रयास र पहल भैरहेको छ यस विषयमा कसलाई कसरी सहयोग गर्नुपर्छ हामी तयार छौं” सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भन्नु भयो । सुदुरपश्चिम प्रदेशले विडित परिवारलाई २ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सहानुभुति दिनका लागि जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरी, उपाध्यक्ष रेखा देवी कठरिया, ४ नं. वडा अध्यक्ष रामजनम चौधरी, ५ नं. वडा अध्यक्ष अनर कुमार चौधरी समेत पुगेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृषि फार्ममा थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीनमध्ये १० जनाको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ। हमासको आक्रमणले एकातिर भर्खरै इजरायली भूमि टेकेका युवाहरूको सपना बिलाएको छ भने अर्कातिर उनीहरूका परिवारको आशा निभेको छ ।