भारतमा दुई वर्षका बालबालिकामाथि कोरोना खोपको ट्रायल

कानपुर, २७ जेठ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि दुई वर्ष देखि छ वर्षसम्मका बालबालिकामा विश्वकै पहिलो ट्रायल भारतको कानपुरमा हुने भएको छ ।

अहिलेसम्म यो उमेर समुहका बालबालिकामाथि कोरोना खोपको ट्रायल भएको छैन । भारत बायोटेकको स्वदेशी खोप कोभ्याक्सिनले बालबालिकामाथि ट्रायल गर्न थालेको छ ।

अहिलेसम्म छ देखि १२ वर्षसम्मका तथा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइएको छ । आगामी महिनासम्ममा कोभ्याक्सिनको नेजल स्पेसमेत उपलब्ध हुने अनुमान गरिएको छ ।

आर्यनगरस्थित प्रखर अस्पतालमा मंगलबारदेखि बालबालिकामाथि कोभ्याक्सिनको ट्रायल प्रारम्भ भएको छ । बालबालिकालाई दुई वर्षदेखि छ वर्ष, छ वर्षदेखि १२ वर्ष तथा १२ वर्षदेखि १८ वर्षको तीन उमेर समुहमा विभाजन गरिएको छ ।

ट्रायलको पहिलो दिन १२ देखि १८ वर्षका ४० बालबालिकाको स्क्रिनिङ गरियो, ती मध्ये २० जना योग्य पाइए । उनीहरुलाई खोप लगाइयो । त्यसपछि बुधवार छदेखि १२ वर्ष उमेर समुहका १० जना बालबालिकाको स्क्रिनिङ गरियो । उनीहरुमध्ये पाँच जनालाई खोप लगाइयो ।

खोप लगाएको ४५ मिनेटसम्म उनीहरुलाई अब्जर्भेसनमा राखियो । सबैको अवस्था सामान्य रह्यो, केवल दुई जना बालबालिकालाई खोप लगाएको ठाउँमा हल्का रातो देखियो ।

त्यसलाई सामान्य मानिएको छ । ट्रायलका प्रमुख अनुसन्धानकर्ता वरिष्ठ बालरोग विशेषज्ञ डा. वीएन त्रिपाठीका अनुसार दुई वर्षका बालबालिका माथि कोरोना खोपको विश्वमै यो पहिलो ट्रायल हो ।

यसअघि यति साना बालबालिकामाथि कहिं पनि ट्रायल गरिएको छैन । उनका अनुसार अबको पालो दुईदेखि छ वर्ष उमेर समुहका बालबालिकाहरुको हो ।

वयष्कहरुमा खोपको ट्रायलका लागि यो शहर हब बनिरहेको छ । यहाँ कोभ्याक्सिनका अतिरिक्त रुसको खोप स्पूतनिक तथा जाइडस केडिलाको खोपको पनि ट्रायल भएको थियो ।

अहिले बालबालिकाहरुका लागि खोपका लागि कोभ्याक्सिनपछि अन्य कम्पनिहरुले पनि आफ्नो खोप ट्रायल गर्ने योजना बनाएका छन् ।

यसका साथै आगामी महिना कोभ्याक्सिनकै नोजल स्प्रे आउने निश्चितप्रायस् छ ।

उक्त स्प्रेलाई गेम चेञ्जर मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *