
सावन १५,
जोशीपुरमा सावन १७ गते गुरही पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व जोशीपुर गाउँपालिका सार्वजनिक सेवा तथा क्षमता विकास समितिको आयोजनामा सावन १७ गते जोशीपुरमा गुरही पर्व मनाइने भएको हो ।
विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा विभिन्न स्थानमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष जोशीपुरमा चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाईने आयोजक समितिले जनाएको छ ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछन् ।

थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही ९ गाइने कीराको प्रतीक असराउने (सेलाउने) चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको छ । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहिआएको छ ।