रसुवा बाढीपीडित जोशीपुरका ९ परिवारलाई रेडक्रसको राहत सहयोग

असोज १९ / जोशीपुर,
रसुवाको भोटेकोसी–रसुवागढी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित जोशीपुर गाउँपालिकाका ९ परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री सहयोग गरेको छ। बाढीपछि आफन्त सम्पर्कविहीन भएपछि समस्यामा परेका परिवारलाई लक्षित गरी दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो।
रेडक्रसले प्रभावित प्रत्येक परिवारलाई २ कट्टा चामल, ४/४ पोका खानेतेल र १/१ पोका नुन उपलब्ध गराएको छ। त्यस्तै प्रभावित परिवारलाई नुहाउने साबुन र कपडा धुने साबुन, भुजा, मसला तथा दाल वितरण गरिएको छ। परिवारलाई चियापत्तीसमेत राहत सामग्रीका रूपमा प्रदान गरिएको छ।
बाढी तथा पहिरोका कारण रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवा पुगेका जोशीपुर गाउँपालिकाका स्थानीयसमेत प्रभावित भएका थिए। केही व्यक्तिहरू लामो समयदेखि सम्पर्कविहीन भएपछि उनीहरूका परिवारमा चिन्ता र पीडा थपिएको छ।

विपद्का कारण आफन्त गुमाउने वा सम्पर्कविहीन हुने अवस्थासँगै दैनिक जीवनयापनमा समेत समस्या भोगिरहेका परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्रीको सहयोगले केही राहत पुग्ने नेपाल रेडक्रस सोसाईटी उपशाखाका अध्यक्ष विक्रम चौधरीले बताउनु भयो । विपद्को समयमा प्राप्त सहयोगले प्रभावित परिवारलाई तत्कालको दैनिकी सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको समेत वहाँले बताउनु भयो । पीडित परिवारले संकटको समयमा सहयोग उपलब्ध गराएकोमा रेडक्रसप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले राहतसँगै सम्पर्कविहीन व्यक्तिहरूको खोजी, प्रभावित परिवारको अवस्था पहिचान तथा आवश्यक थप सहयोगका लागि स्थानीय सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था र सम्बन्धित निकायले निरन्तर पहल गर्नुपर्ने मागसमेत गरेका छन्।

मानवताका लागि मानवीय सेवा मा सधै समर्पित NRCS जोशीपुर उपशाखाको पहल कदमी सँगै नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको अहम भूमिकामा जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चोधरी, उपाध्यक्ष रेखादेवी कठरिया, प्रमुख प्रशासकिय अधिकृतः अमीत कुमार शाह र विपत् शाखाको रोहबरमा जोशीपुरका भोटेकोशी बाढी प्रभावित नौँ परिवारजनहरुलाई तत्काल अति आवश्यकिय खाद्य सामग्री वितरण गरिएको जोशीपुर विपद व्यवस्थापन शाखा प्रमुख सिता सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *