
चैत्र ८,
कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ईमर्जेन्सी सेवा बाहेक सवै सेवा बन्द भएको छ। जोशीपुर गाउँपालिका अन्तरगत स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरु महिनौ दिन सम्म तलव नपाउँदा आन्दोलित भएका छन् । स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरु २०७९ साल कात्तिक महिना देखि हाल सम्म तलव नपाए पछि आन्दोलन गरेका हुन् । सम्बन्धित निकायमा पटक पटक मौखिक र लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको र माग प्रति सम्वन्धित निकायले वेवास्ता गरेको आन्दोलित रहेका कर्मचारीहरुको भनाई छ । चैत्र ५ गते जोशीपुर पालिका अन्तरगतका सम्पूर्ण स्वास्थ्य क्षेत्रका स्थायी कर्मचारीहरुले पालिकालाई ज्ञापन पत्र बुझाएका थिए । तत पश्चात पनि सरकारले सुनुवाई नगरेको भन्दै कर्मचारीहरु काम नगर्ने भनि प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा बाहेक सवै सेवा बन्द गरेको कर्मचारीहरुको भनाई छ । प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा वाहेक सवै सेवा बन्द भए पछि दुवै पक्ष विच बैठक बस्दा पनि कुनै निष्कर्ष आएन ।

यता सेवाग्राहीको भने विचल्ली भएको छ। स्वास्थ्य केन्द्रमा आएका विरामीहरु सेवा नपाए पछि कता जाने, के गर्ने भन्ने अलपत्र परेका छन् ।

स्वास्थ्य क्षेत्रको समस्यालाई यथासिघ्र व्यवस्थापनका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गर्दै वहाँले निकासका लागि चाँदै अर्थ मन्त्रालय जाने बताउनु भयो ।