
कैलालीको जोशीपुरमा १३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । जोशीपुर गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा गा.पा.को प्राङ्गणमा कार्यक्रम भव्य रुपमा मनार्ईएको छ । जोशीपुर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा बाल कल्याण संघ टीकापुरको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । “लैङ्गिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” मूल नारा रहेको महिला दिवसमा विभिन्न सास्कृतिक डेउदा गीत नाच, कठरिया होरी नाच र थारु होली धमार गीत समेत महिला दिदिबहिनीहरुले प्रस्तुत गरेका थिए ।

३० हजार बजेट रहेको महिला दिवसको सभामा आफ्नो बक्तव्य राख्दै महिलाहरुले यस जोशीपुर गा.पा.ले महिलाको माग तथा समस्या सम्बोधन नगरेको गुनासो गरेका छन् । महिला दिवस महिलाको हक अधिकार माग गर्ने दिन, उनिहरुले ३३ प्रतिशत अधिकार कागजी रुपमा मात्र रहेको समेत गुनासो गरे । गाउँपालिका स्तरिय रुपमा मनाउने भव्य कार्यक्रममा पानी समेतको व्यवस्था नरहेको गुनासो पनि महिलाहरुले गरेका थिए। पालिका भरिका महिलाहरु सवै सम्पन्न छैनन्, कोहि साईकलमा आएका छन्, कोहि पैदल आएका छन् तर महिला दिवस मनाउन आएका महिलाहरुको लागि पानीको व्यवस्था नहुनु दुखद कुरा रहेको महिलाहरुको भनाई रहेको थियो । अन्तर्राष्ट्रिय महिला दिवसको सूचना गाउँगाउँमा नपुगेको समेत गुनासो आएको छ । महिलाहरुबाट विभिन्न गुनासो आएपछि आयोजकले पानी तथा विस्कुटको व्यवस्था गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन तथा महिला दिवसको शुभकामना गर्दै प्रमुख अतिथि गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले “महिलाहरुका लागि बजेट विनियोजित छ । तपाईहरु योजना र प्रपोजल लिएर आउनुस् तपाईको माग अवश्य सम्बोधन गर्छु” भन्नु भयो । त्यसै गरि सभापति एवं गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाले महिलाहरु आफ्नो हक अधिकार सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तै वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर शाहले सवै महिला र पुरुष वरावरी हौं । सवैलाई आफ्नो आफ्नो अधिकार र कर्तव्य कसरी प्रयोग गर्नु पर्छ भन्ने जानकारी हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सहयोग तथा समन्वय गरेको वाल कल्याण संघका कोर्डिनेटर रामलाल चौधरीले सवै आमाहरुले आ–आफ्नो बालबालिकाहरुलाई शिक्षा तर्फ अग्रसर गराउन आवश्यक रहेको बताउँदै कुनै पनि कार्यक्रममा सहभागिता मात्र ठुलो कुरा नभई अर्थपूर्ण सहभागिता हुन आवश्यक रहेको बक्तव्य व्यक्त गर्नु भयो ।